खिचापोखरी न्यूरोड व्यापार संघको ‘नवौँ वार्षिक साधारण सभा’
काठमाण्डौ । खिचापोखरी न्यूरोड व्यापार संघको ‘नवौँ वार्षिक साधारण सभा’ ले नयाँ नेतृत्व चयन गरेको छ ।
साधारणसभाले मनोजवाबु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । साधारणसभाका क्रममा व्यवसायीहरुले निजी क्षेत्रको आधारबिना मुलुक अगाडि बढ्न नसक्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
साधारणसभाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले निजी क्षेत्रलाई अगाडि बढाउन नसके मुलुक अगाडि बढ्न नसक्ने बताए । श्रेष्ठले भने, ‘निजी क्षेत्रबाट तिरेको करले मुलुक चलेको छ । त्यसैले मुलुकले निजी क्षेत्रलाई बेवास्ता गर्न मिल्दैन ।’ अध्यक्ष श्रेष्ठले व्यापारीप्रति सरकारको विश्वास नहुँदा व्यापार क्षेत्रमा समस्या हुने गरेको गुनासो समेत गरे ।
आन्तरिक राजस्व विभागका उपमहानिर्देशक धनिराम शर्माले कर नीतिको माध्यमबाट लगानी सुरक्षित गर्न व्यापारीलाई आग्रह गरे । समयसापेक्ष रुपमा प्रविधिअनुसार कर प्रणाली चुस्त बनाइँदै लगिएको भन्दै उनले त्यसमा अभ्यस्त हुन पनि व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरे । प्रक्रिया अलिक लामो हुने भएकाले करदाताले झमेलाका रुपमा कर तिर्न अल्छि गर्दा समस्या देखिने गरेको भन्दै यो परिपाटीबाट बाहिर निस्किन सबैलाई आह्वान गरेका हुन् ।
संघका अध्यक्ष मनोजबाबु श्रेष्ठ, निवर्तमान अध्यक्ष राजेन्द्र शेरचन, लगायतले न्युरोड तथा खिचापोखरी क्षेत्रमा पार्किङको चरम समस्या रहेको भन्दै पार्किङ क्षेत्र बिस्तार गरिदिन सरकार तथा महानगरपालिकासँग आग्रह गरे । यसका लागि त्यस क्षेत्रका सबै व्यापारीहरुले सक्दो सहयोग गर्ने उनीहरुको भनाई छ ।
करदाता सेवा कार्यालय न्युरोड शाखाका प्रमुख मुक्तिराम आचार्य, नेपाल चेम्बर अफ कमर्शका सचिव पर्शुराम दाहाल लगायतले काठमाडौँको मुटुमा रहेको खिचापोखरी, न्युरोड क्षेत्रको समग्र समस्या समाधानका लागि सम्बन्धित पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए । कार्यक्रममा व्यापार व्यवशायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका तीन व्यवसायीलाई सम्मान गरिएको थियो ।
साधारण सभाले संघका वर्तमान अध्यक्ष मनोजबाबु श्रेष्ठ तथा वरिष्ठ उपाध्यक्ष गोपाल महर्जनलाई दोस्रो पटक सोही जिम्मेवारी दिंदै १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । जस अनुसार नरेन्द्र श्रेष्ठ प्रथम उपाध्यक्ष, गणेशकुमार न्यौपाने द्वितीय उपाध्यक्ष, भरतप्रसाद बडाल महासचिव, कृष्णप्रसाद ढुङ्गाना सचिव र कोषध्यक्ष खिलाबहादुर रोक्का बनेका छन् । संघले थप छ जना सदस्य मनोनयन गरी दुई वर्षका लागि २३ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।
खिचापोखरी व्यापार संघका रुपमा मात्र सक्रिय रहँदै आएको संघमा केही वर्ष अघिबाट न्यूरोड क्षेत्रका व्यापारी पनि सहभागि भई संघ बिस्तारित भएर खिचापोखरी न्यूरोड व्यापार संघ बनेको थियो । अहिले संघमा सो क्षेत्रका छ सय बढी व्यवशायी तथा व्यापारीहरु आबद्ध छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19