काठमाण्डौ । गणतन्त्र इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाण्डौमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ। 

नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय काठमाण्डौको पानीपोखरीस्थित आइएमई कम्प्लेक्स परिसरमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो। यस अवसरमा शुभकामना सन्देशमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्याउन आफूले प्रयास गरिरहेको बताएका छन्। 

ढकालले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेकोले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्। 

नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपालका लागि इन्डोनेसियाको  राजदूतको  आवासीय कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ। 

इन्डोनेसिया आसियान राष्ट्रहरुमध्येको ठूलो अर्थतन्त्र भएको मुलुक हो। नेपाल र इन्डोनेसियाबीचको व्यापारको परिमाण पनि ठूलो रहेको छ। दुई देशबीच पर्यटनलगायत आयात निर्यात व्यापारका क्षेत्रमा थुप्रै सम्भावना छन्। 

झन्डोत्तोलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्य दूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीको उपस्थिति थियो।