काठमाण्डौ। 'Access to All' भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्दै आइरहेको गरिमा विकास बैंक लिमिटेड आज मंसिर ७ गतेबाठ आफ्नो स्थापनाकालको १४ औँ वसन्त पार गर्दै १५ औँ वसन्तमा प्रवेश गरेको छ। 

यस गरिमामय यात्रामा निरन्तर साथ दिने सेवाग्राही, सेयरधनी, नियमनकारी निकाय, कर्मचारी तथा शुभ चिन्तकहरुप्रति बैंकले कृतज्ञता प्रकट गरेको छ। काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा ११५ शाखा कार्यालय १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ कारोबार गर्दै रु. ६७.१६ अर्ब निक्षेप संकलन र रु. ६१.२१ अर्ब कर्जा लगानी गरेको छ। करिब ६ लाख निक्षेप एवं कर्जा खाताहरुमार्फत ग्राहकमाझ सञ्चालनमा रहेको बैंकले निरन्तर आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा सन्तोषजनक प्रगति गर्दै आइरहेको छ। 

बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सञ्चालन गर्दै र्आरहेको छ। यो वर्ष पनि निम्न लिखित कार्यक्रमहरु सम्पन्न गरेको छ- 

१. रक्तदान कार्यक्रम : रक्तदान कार्यक्रमलाई गरिमा विकास बैंकले हरेक वार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिदै आएको छ। यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रीय कार्यालय–लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, वीरगन्जलगायतका २१ शाखा कार्यालयमा पनि बृहत रक्तदान कार्यक्रम राखिएको थियो। काठमाण्डौमा सम्पन्न भएको रक्तदान कार्यक्रममा यस बैंकले ओम हस्पिटल एन्ड रिसर्च सेन्टरसँग सहकार्य गरेको हो। उक्त कार्यक्रमबाट ११५५ प्वाइन्ट रगत संकलन भएको छ। 

२. शाखा कार्यालयहरुको कारोबार शुभारम्भ: निरन्तर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले १५ औँ बार्षिकोत्सवको अवसर पारेर एकसाथ ५ वटा शाखा कार्यालयहरुको कारोबार शुभारम्भ गरेको छ। पथरी शाखा (मोरङ), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाण्डौ) र गुलरिया शाखा (बर्दिया)को एकसाथ कारोबार शुभारम्भ गरिएको हो। यससँगै गरिमा विकास बैंकको शाखा सञ्जाल ११५ पुगेको छ।