काठमाण्डौ । मनकामना दर्शन प्रालिले गोरखा नगरपालिका–६ तीनधारेमा पुनर्निर्माण भइरहेको त्रिभुवन पुस्तकालयका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नेपालको पहिलो केबलकार सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेसबाबु श्रेष्ठले स्वर्गीय बुवा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा पुस्तकालयका लागि सहयोग गरेका हुन् ।

त्रिभुवन पुस्तकालय २००८ सालमा लक्ष्मणबाबु श्रेष्ठको सक्रियतामा गोरखा जिल्लामा नै पहिलो पटक स्थापना भएको पुस्तकालय हो । पुस्तकालयको भवन संरक्षणविहीन रहेकै अवस्थामा गोरखा भूकम्पले थप क्षति पुगेको थियो।

भूकम्पपछि स्थानीय र गोरखा नगरपालिकाको पहलमा अहिले पुरानो भवन भत्काएर सोही ठाउँमा नयाँ भवन निर्माणकार्य भइरहेको छ । भवन दुईतलाको ढलान सम्पन्न भइसकेको छ ।

गोरखामा जन्मिएर राष्ट्रियस्तरमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्मणबाबु श्रेष्ठको नाममा भवनको भुइँतलाको हल नामकरण गर्ने निर्णय भएको पुस्तकालय पुनर्निर्माण समितिले जनाएको छ ।