काठमाण्डौ । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौँ संस्करणका लागि आवेदन खुलेको घोषणा गरिएको छ। 

यस वर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १ मा हुने अवार्ड कार्यक्रम र सम्मेलनमार्फत घोषणा गरिनेछ।

‘ग्लोकल टिन हिरो’ ग्लोकल प्रालिको एक कार्यक्रम हो। जहाँ किशोर–किशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ। ग्लोकल टिन हिरो एक यस्तो प्लेटफर्म हो, जसले किशोर–किशोरीको कार्यहरुलाई पहिचानमात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ।

यस उपाधिका माध्यमबाट किशोर–किशोरीमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुआतका लागि थप उर्जा प्रदान गरिनेछ। नेपालबाट सन् २०१५ मा सुरु भई काठमाण्डौका किशोर–किशोरीलाई मात्र लक्षित गरेर पछि सन् २०१६ सम्ममा यसले नेपालका सबै किशोर–किशोरीका लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो। हालसम्म नेपालका ८ किशोर–किशोरीलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ। अन्य दक्षिण एसियाली देशहरुमा आफ्नो क्षितिज विस्तार गर्ने परिकल्पनाका साथ, ग्लोकल टिन हिरोलाई भारतमा, श्रीलंकामा र त्यसपछि बंगलादेशमा क्रमशः २०१९, २०२० र २०२२ मा सुरु गरिएको थियो। 

सेप्टेम्बर १ मा ग्लोकल टिन हिरोे नेपाल आयोजना गरिनेछ। शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सञ्चालन गरिनेछ। ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ। 

देशभरिका प्रभावशाली किशोरकिशोरी आफैमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिवर्तनका नवीन आयाम बोकेका हुन्छन्। सानै उमेरमा पनि ठूलठूला सपना एवं नवीन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाइन्छ। समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरणका कार्यहरु लगयता बिभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर–किशोरीले https://glocalteenhero.com/nepal मार्फत निःशुल्क आवेदन भर्न सक्ने छन्। यसबाहेक आफूले चिनेका अद्भुत किशोर–किशोरीलाई मनोनयन पनि गर्न सकिनेछ। यसका लागि आयोजकले पूर्वदेखि पश्चिमसम्म नेपालका विभिन्न ६२ सहरहा किशोर–किशोरीसँग अन्तर्क्रिया गर्दैछ। 

पहिलो चरणमा कुल आवेदनहरुको पहल, प्रभाव र उपलब्धिका आधारमा ग्लोकल २०अन्डर२० को छनोट गरिनेछ। त्यसपछि उनीहरुको दृष्टिकोण, कामको सुरुवात र प्रभावका आधारमा उत्क्रिस्थ ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, मनोवृत्ति र दूरदर्शनको मापनका लागि अन्तर्वार्ता हुनेछ र ग्लोकल टिन हिरो नेपाल २०२३को बिजेता घोषणा गरिनेछ। 

अन्तिम स्क्रिनिङ र साक्षात्कारका लागि निर्णायक टोलीमा गोल्छा गु्रपकी निर्देशक सीमा गोल्छा, कोकाकोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, ज्योति ग्रुप अफ कम्पनीका निर्देशक सौरभ ज्योति, नेपालका लागि प्रतिनिधि क्यारोलिन स्पन्नुथ बर्मा र युनिसेफ नेपाल रहेछन्। 

देशभरिका प्रतिभावान किशोर–किशोरीलाई एकैसाथ ल्याउन ग्लोकलसँग बिभिन्न सँघसंस्थाहरु साझेदारका रुपमा जोडिएका छ्। ग्लोकलले शीर्षक साझेदारका रूपमा गोल्छा गु्रपसँग साझेदारी गरेको छ, रणनीतिक साझेदारका रुपमा यूएनएचसीआर, युनिसेफ, संघीय गणतन्त्र जर्मनीको दूतावास, पार्टनरका  रुपमा  होन्डा, कोका कोला,  डब्ल्यूडब्ल्यूएफ  नेपाल, टोयोटा, द ब्रिटिस कलेज, पञ्चकन्या ग्रुप, डिशहोम गो, काठमाण्डौ वर्ल् स्कुल र रियल जुस, आधिकारिक होटल साझेदारका रुपमा द सोल्टी काठमाण्डौ, आतिथ्य पार्टनरमा सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटी  र कोजी होम, एयरलाइन्स पार्टनरका रुपमा नेपाल एयरलाइन्स, क्याथे प्यासिफिक एयरवेज र यती एयरलाइन्स,  शिक्षा पार्टनरमा किङ्स कलेज, पीआर साझेदारमा प्रिस्मा एडभरटाइजिङ र समर्थकमा भ्यु योर चोइस रहेका छन्।