काठमाण्डौ । कुवेतको अग्रणी एयरलाइन्स जजिरा एयरवेजले मध्यपूर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरिरहेको छ।

यही क्रममा जजिराले भैरहवास्थित नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको सुरुआत गरेको छ। यसबाट मध्यपूर्व र युरोप बसोबास गर्ने ठूलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन सक्नेछन्।

यो नेपालमा जजिराको दोस्रो उडान सेवा हो। जसले नेपालको तराई क्षेत्रमा बढ्दै गइरहेको यात्रुहरुको आवश्यकतालाई सम्बोधन गरेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गत जेठ १ गतेबाट उडान सेवा सुरु भएको थियो।

नयाँ हवाई रुटको बारेमा बोल्दै जजिरा एयरवेजका भाइस प्रेजिडेन्ट रविन्द्रन भाराथनले भने, ‘जजिरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँ–नयाँ गन्तव्यहरु थप्दै गइरहेको छ। यसले गर्दा कुवेत र मध्य–पूर्वको डाइरेक्ट रुट (प्रत्यक्ष धावन मार्ग) ले सेवा दिन नसकेका यात्रुलाई प्रत्यक्ष लाभ पुग्नेछ। अब नेपाली एवं विदेशी पर्यटकलाई पनि विदेशबाट सिधै तराई जान धेरै सजिलो भएको छ। यो हवाई सेवाले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ।’

आरआर ग्रुप अफ कम्पनिजको भगीनी संस्था सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजका चेयरम्यान रवीचन्द्र सिंहले भने, ‘७४ वर्षसम्म काठमाण्डौमा मात्र भर परेको अन्तर्राष्ट्रिय उडान अब यो हवाई सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठूलो परिवर्तन ल्याउनेछ, यसका साथै यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पुर्याउनेछ। जसले समग्र नेपालकै आर्थिक बिकासमा सरोकार राख्छ। यो हामी सम्पूर्ण नेपालीको लागि ऐतिहासिक र गौरवपूर्ण क्षण हो।