काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका सम्पूर्ण कर्मचारीका तर्फबाट सहयोगस्वरुप संकलन गरिएको रकम ३४ लाख २३ हजार ६९८ रुपैया“को चेक नेपाल सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार  कोषमा  जम्मा गरिएको छ। 

उक्त सहयोग रकमबापतको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई गत आइतबार अर्थ मन्त्रालयमै गएर संस्थाका सञ्चालक समितिका अध्यक्ष चण्डीप्रसाद घिमिरे र प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले हस्तान्तरण गरेका छन्। सोही अवसरमा अर्थमन्त्री खतिवडाले देशमा गरिबी न्यूनीकरण गर्ने अभियानमा कार्यरत ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरूले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस रकमलाई सरकारले ठूलो सहयोग मानेको र यसरी संकलन भएको रकम कोरोना संक्रमण तथा विपतमा परेका नागरिकहरूको उपचार र उद्धारका लागि पूर्ण रुपमा सदुपयोग गरिने बताए। 

संस्थाले यसअघि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा रु. ११ लाख र सबै सात प्रदेश सरकारहरूले स्थापना गरेको यस प्रकारको कोषमा २ लाख ५० हजार रुपैयाँका दरले गरी कुल रकम २८ लाख ५० हजार रुपैयाँ सहयोग रकम जम्मा गरेको थियो।