काठमाण्डौ । ग्रीन डेभलमपमेन्ट बैंक लिमिटेडले कास्कीको मादी गाउँपालिका ७ का सर्वसाधारण जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले २ हजार लिटरका २ थान र १ हजार लिटरको १ थान ट्यांकी उपलब्ध गराउन लेखनाथ खानेपानी उपभोक्ता संस्थामार्फत खानेपानी ट्यांकी स्थापना तथा खरिद गर्नका लागि रु. ६७ हजार सहयोग प्रदान गरेको छ। 

सोमबार आयोजित एक कार्यक्रममा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मालाई वैंकको सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत उक्त रकम हस्तान्तरण गरेका हुन्। 

कार्यक्रममा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले लेखनाथवासीलाई मात्र नभई आसपासका क्षेत्रमा समेत स्वच्छ पानीको व्यवस्थापनमा लेखनाथ खानेपानी उपभोक्ता संस्था सफल रहेको र उक्त अभियानमा बैंक सहभागी हुन पाउनु गर्वको विषय रहेको बताए। 

सोही कार्यक्रममा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्माले बैंकहरुले समेत जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने अभियानमा सहभागी भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा समेत सहकार्यको अपेक्षा गर्ने बताए। 

कार्यक्रममा बैंकका तर्फबाट संयुक्त धाख्वा, दुर्गाप्रसाद श्रेष्ठ, रविचन्द्र तिमिल्सिना तथा खानेपानी उपभोक्ता संस्थाका कार्यसमितिका पदाधिकारी, सदस्यहरु तथा कर्मचारीहरुको सहभागिता थियो। 

पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल कास्की, बागलुङ, म्याग्दी, तनहुँ र नवलपुरमा रहेका १६ वटा शाखा कार्यालयहरुबाट विभिन्न किसिमका अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।