काठमाण्डौ । नेपाली टायर उत्पादक कम्पनी ग्रीन टायर प्रालिले ट्रयाक्टर ट्रली तथा ट्रलीका लागि प्रयोग हुने ९.००–२० र १०.००–२० साइजका शेर्पा सारथी टीटी टायरको बिक्री–वितरण प्रारम्भ गरेको छ।

नाडा अटो शो २०२३ को शुभारम्भका अवसरमा एक कार्यक्रमबीच अर्थमन्त्री डा. प्रकाशशरण महतले औपचारिक रुपमा सो टायर सार्वजनिक गरेका हुन्। 

विशेषगरी ट्रली तथा ट्रयाक्टर ट्रलीमा प्रयोग हुने ९.००–२० र १०.००–२० का टायरहरु मोटो गोटी तथा लाइन गोटीमा १८ प्लाई रेटिङमा उपलब्ध छन्। 

उच्च गुणस्तरीय हेभी ड्युटी ती टायरमा कट रेसिस्टेन्स क्षमता भएकाले नेपाली माटो तथा बाटोका लागि उपयुक्त भएको कम्पनीका निर्देशक विकास सिंघानियाले जानकारी दिए। यी टायर तुलनात्मक रुपमा सस्तो, सुलभ र गुणस्तरीय भएकाले बजार मागको ठूलो हिस्सा ओगट्ने विश्वास सिंघानियाले व्यक्त गरे। 

करिब ५ वर्षपहिले स्थापित निजी क्षेत्रको पहिलो टायर उद्योग ग्रीन टायरले मोटरसाइकल, स्कुटर, अटो, टेम्पु तथा ट्रयाक्टरका टायरहरु यसअघि नै बजारमा बिक्री–वितरण गर्दै आइरहेको छ। 

हाल कम्पनीले वार्षिक १ लाख थान टायर उत्पादन गर्दै आएको र १०० जना कामदारले प्रत्यक्ष रोजगार पाएका छन्।