बाजुरा । ग्लोबल मनी विकअन्तर्गत हिमालयन बैंकले शुक्रबार बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा वित्तीय साक्षरता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। 

बैंकले स्वामीकार्तिक खापर–४ स्थित स्वामीकार्तिक माध्यामिक विद्यालयमा कार्यक्रम सम्पन्न गरेको हो। ग्रामीण क्षेत्रमा वित्तीय सचेतना अभिवृद्धि गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत देशव्यापी रुपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएकोमा स्वामीकार्तिक शाखा कार्यालयले समेत उक्त कार्यक्रम सञ्चालन गरेको बैंकका शाखा प्रबन्धक ध्रुवबहादुर शाहीले जानकारी दिए। 

जिल्लाका ग्रामीण क्षेत्रहरुमा वित्तीय सचेतना अभिवृद्धि गर्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको शाहीले बताए। कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका अविभाभकहरुका लागि आयोजना गरिएको थियो। 

कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षकशिक्षिका, स्थानीय व्यवसायी, महिला, विद्यार्थीलगायत करिब २५० जनाको सहभागिता थियो। 

बिद्यालयका प्रधानाध्यापक शक्ति सिंह कठायतको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सरोेज रेग्मी, स्वामीकार्तिक शाखाका प्रबन्धक ध्रुबबहादुर शाही तथा जगन्नाथ शाखाका प्रबन्धक रेम प्रसाद कँडेलले वित्तीय साक्षरताका बारेमा जानकारी प्रस्तुत गरेका थिए। 

कार्यक्रममा बैंकले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता सामग्रीसहितको अभ्यास पुस्तिका तथा शैक्षिक सामग्री वितरण गरेको थियो।