काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डको समन्वयमा सञ्चालन भइराखेको ग्लोबल मनी विक–२०२२ अन्तर्गत सेयर बजारसम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमै पहिलोपटक अन्तरकलेज वित्तीय क्विज प्रतियोगिता–२०२२ कार्यक्रम आयोजना सम्पन्न गरेको छ। 

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तथा ग्लोबल मनी विक २०२२ मा पुँजीबजार तर्फका संयोजक डा. नवराज अधिकारी प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका निर्देशक मुक्तिनाथ सापकोटा तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रवक्ता मुराहरी पराजुली विशेष अतिथिका रुपमा उपस्थित रहेका थिए। कार्यक्रमको सभापतित्व प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले गरेका थिए।

क्यापिटलले काठमाण्डौ उपत्यकाभित्रका १५ वटा बिजनेस कलेजहरुमा अध्ययनरत बीबीए तथा एमबीए तहका विद्यार्थीहरुलाई सहभागी गराएर यो प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा कुल १२५ अंकसहित काठमाण्डौ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसुम) प्रथम भएको छ भने ८५ अंकसहित साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (साइम) कलेज दोस्रो तथा तेस्रोमा ७५ अंकसहित एपेक्स कलेज र युनिग्लोब कलेजबीच टाई भएकोमा थप प्रश्नको सही उत्तर दिएर एपेक्स कलेज तेस्रो भएका छन्। 

प्रतियोगितामा प्रथम हुने कलेजलाई शिल्ड र प्रमाणपत्रका साथै सहभागी विद्यार्थीलाई रु. २० हजारबराबरको प्रभु सेलेक्ट फण्डको युनिट गरिएको छ। दोस्रो हुने कलेजलाई शिल्ड र प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई रु. १० हजारबराबरको प्रभु सेलेक्ट फन्डको युनिट प्रदान गरिएको छ। 

त्यसैगरी तेस्रो हुने कलेजलाई शिल्ड र प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई रु. ५ हजारबराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिएको छ। यसका साथै प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीलाई प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा २ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर अनलाइन प्रदान गरिएको छ।