काठमाण्डौ। ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच बिहीबार महासंघमा आबद्ध सदस्य संघसंस्थाहरुलाई सहुलियतपूर्ण कर्जाका साथै सरल र सहज बैंकिङ सेवाहरु प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। 

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा महासंघका अध्यक्ष रामबहादुर गुरुङ्गले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बैंकले निर्यात व्यवसायीहरुलाई आवश्यकताअनुसार अल्पकालीन तथा दीर्घकालीन अवधिसम्मका लागि सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्नेछ। साथै बैंकले महासंघका सदस्यहरुलाई आवश्यक अन्य बैंकिङ सेवा सरल र सहज रुपमा उपलब्ध गराउने जनाएको छ। 

सम्झौताअनुसार बैंकले कर्जा प्रदान गर्ने, निकासी डकुमेन्ट खरिद गर्ने, नगद अनुदान, पुनरकर्जा, विदेशी मुद्रा खाता तथा सटही सुविधालगायत निर्यात व्यवसायसँग सम्बन्धित अन्य सेवाहरु उपलब्ध गराउनेछ। 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले समझदारीको प्रमुख उद्देश्य देशमा उत्पादित वस्तुहरुको निर्यात वृद्धि गरी अर्थतन्त्रलाई थप बल पुर्याउन महासंघका सदस्य संघसंस्था तथा व्यवसायीहरुको हकहितमा विभिन्न क्रियाकलाप गर्ने रहेको बताए। 

बैंकले निर्यात व्यवसायको प्रवद्र्धनमा विशेष सुविधा दिने उल्लेख गर्दै अध्यक्ष ढकालले निर्यात व्यवसाय मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको र हाल व्यवसायीहरु कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी महासंघमा आबद्ध भएका निर्यात व्यवसायीहरुलाई आवश्यकतानुसार अल्पकालीनदेखि दीर्घकालीन अवधिसम्मका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्नेदेखि बैंकिङ सेवालाई सरल र सहज रुपमा उपलब्ध गराउने गरी समझदारी भएको बताए। 

ग्लोबल आइएमई बैंकसँगको सहकार्यले महासंघसँग आवद्ध संस्थाहरुलाई आवश्यक बैंकिङ कारोबारमा सहज हुने बताउँदै महासंघका अध्यक्ष गुरुङले महासंघले आफ्ना सदस्य रहेका निर्यात व्यवसायीहरुलाई बैंकसंग कारोबार गर्न प्राथमिकता दिने उल्लेख गरे। 

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बैंक पनि निजी क्षेत्रको एक संस्था भएकोले निजी क्षेत्रका बैंकिङ समस्या समाधान गर्दै एकआपसमा सहकार्य गर्ने बैंकको उद्देश्य रहेको सुनाए। महासंघका महासचिव दुर्गाविक्रम थापाले कोभिडअगाडिको वर्ष ९५ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको र अबका दिनमा निर्यातलाई प्रवद्र्धन गर्न महासंघले विशेष कार्यक्रमहरु गर्ने बताए। 

कार्यक्रममा बैंकका कर्मचारी, महासंघका पदाधिकारी तथा सदस्यहरु, पत्रकार तथा अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो।