काठमाण्डौ । सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ पहुँच सजिलै पुर्याउने उद्देश्यले विकास गरेको ‘ओमी च्यानल डिजिटल बैंकिङ सलुसन्स’ मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा ग्लोबल आइएमई बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच सम्झौता भएको छ। 

एससीटीले गहन अध्ययन र अनुसन्धान गरी विगत दुई बर्षको अनवरत प्रयत्नबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षणपश्चात सञ्चालनको अवस्थामा ल्याएको यस उपकरणमा मोबाइल बैंकिङ, ई–बैंकिङ, सेल्फ बैंकिङ, स्मार्ट क्यूआर र कार्डमार्फत दिने सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुनेछन्। यसबाट ग्राहकलाई विविध आवश्यकताबमोजिम छिटोछरितो, मितव्ययी र सरलढंगले बैंकिङ सेवा र सुविधाको पहुँच हुने बैंकले जनाएको छ। साथै, बैंकले यस आधुनिक उपकरणको सेवालाई छिट्टै नै ग्राहकबीच सञ्चालनमा ल्याइने जनाएको छ। 

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने एससीटीको लक्ष्यबमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउँदै आएको छ। डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैंकिङ क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुवै कम्पनीको रहेको छ।