काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले सोलुखुम्बुको फाप्लुमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। योसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २५६ पुगेको छ। 

बैंकले सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–४ फाप्लुमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको उद्घाटन सोलुदूधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले गरेकी हुन्। उक्त शाखारहित बैंकिङ सेवाका लागि बैंकको प्रतिनिधिमा मान कुमार श्रेष्ठलाई नियुक्त गरिएको छ।
 
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए, यूटीएल र एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन्। 

कृषि, पर्यटन तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनका लागि बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गर्ने गरेको छ।

बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५६ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ।