काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलईडी टेलिभिजन सेट प्रदान गरेको छ।

ललितपुरको जावलाखेलस्थित महानगरीय प्रहरी परिसरमा शुक्रबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगरीय ट्राफिक प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई १० थान टेलिभिजन सेटहरु हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले महानगरीय ट्राफिक प्रहरी परिसरलाई स्मार्ट कन्ट्रोल रुपका लागि टेलिभिजन सेटहरु सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्र्दै बैंकले उपलब्ध गराएको टेलिभिजन सेटहरुले सेवाग्राहीहरुलाई थप प्रभावकारी रुपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा राखे। 

कार्यक्रममा महानगरीय ट्राफिक परिसर ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक बज्राचार्यले बैंकका तर्फबाट प्राप्त यो सहयोगले महानगरीय प्रहरी परिसरलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यसका निम्ति बैंकलाई धन्यवाद ज्ञापन गरे। 

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ।