काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। 

बैंकले शुक्रबार सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो। यस कार्यक्रमअन्तर्गत प्रदेश १ को तिनपैनी शाखा, विराटनगर, मोरङ, प्रदेश २ को लाहान शाखा, सिराहा, बागमती प्रदेशको कान्तिपथ शाखा, काठमाण्डौ, गण्डकी प्रदेशको न्युरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको मिलनचोक शाखा, बुटवल, रुपन्देही, कर्णाली प्रदेशको विरेन्द्रचोक शाखा, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश कार्यालय, चटकपुर, धनगढीमा पौष १६ गते रक्तदान कार्यक्रम आयोजना गरिएको छ। देशभर आयोेजित कार्यक्रममा ४१६ रक्तदाताहरुबाट १८७ लिटर रगत दान गरिएको छ।

यसअघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउने उद्देश्यका साथ देशव्यापी मेरी उनीलाई स्वस्थ नारी पहल निःशुल्क महिला स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो। 

बैंकको १५ औँ वार्षिकोत्सवका अवसरमा बैंकले डिजिटल बैंकिङसम्बन्धी साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, खेलकुद तथा अन्य सामाजिक कार्यक्रमहरुको आयोजना गरिरहेको छ। ग्लोबल आइएमई बैंक यही पुस १८ गते आइतबारदेखि स्थापनाको १५ वर्ष पुरा गरी १६औँ वर्षमा प्रवेश गर्दैछ।