काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो केवाईसी प्रणाली (ग्लोबल लाइभ बैंकिङ) सुचारु गरेको छ। 

ग्लोबल आइएमई बैंक र डिजिटल नेटवर्क सोलुसन प्रालिबीच भिडियो वाईसी प्रणाली विकास र कार्यान्वयनका लागि भएको सम्झौतासँगै बैंकले यो सेवा सुचारु गरेको हो। 

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक कल्याण विक्रम पाँडे र डिजिटल नेटवर्कका प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले हस्ताक्षर गरेका छन्। 

सम्झौतापश्चात ग्लोबल आइएमई बैंकका ग्राहकले अनलाइन भिडियो कलमार्फत आफ्नो केवाईसी अपडेट गर्न सक्नेछन्। बैंकले सुचारु गरेको यस सेवाले ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास रहेको छ। 

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस किसिमका नयाँ योजनाहरु ल्याउँदै आएको छ। 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७६ जिल्लामा रहेका २८७ शाखा, २५२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।