काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यिरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता भएको छ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्यिरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नेसनल पेमेन्ट स्विचको पहिलो चरणअन्तर्गत बिलर गेटवेको सफल इन्टिग्रेसन गरी आफ्नो मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमा सरकारी तथा अर्धसरकारी बिल भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी, बीमा शुल्क भुक्तानी, सेयर कारोबारको भुक्तानीलगायतका विभिन्न भुक्तानीहरु उपलब्ध हुने व्यवस्था गरेको छ। 

यसका साथै बैंकले नेसनल पेमेन्ट स्विचअन्तर्गतका नेपालपे क्यूआर, नेपालपे इन्सट्यान्ट, नेपालपे रिक्वेस्टलगायतका अन्य सेवाहरु पनि चाँडै नै उपलब्ध गराउनेछ। 

सुरक्षित र भरपर्दो माध्यमका रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवर्द्धनका लागि ग्लोबल आइएमई बैंक सदैव अग्रसर रहिआएकोे छ। 

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २५९ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।

यसै सन्र्दभमा नेपाल क्यिरिङ हाउसले नेसनल पेमेन्ट स्विचको कार्यान्वयनका लागि हालसम्म २७ वटा वाणिज्य बैंक, ५ वटा विकास बैंक, १२ वटा फाइनान्स कम्पनी तथा ८ वटा भुक्तानी सेवा प्रदायक संस्था गरी जम्मा ५२ संस्था आबद्ध गराइसकेको छ। 

नेसनल पेमेन्ट स्विचमा आबद्धमध्ये धेरैजसो संस्थाहरुले यस स्विचअन्तर्गतका विभिन्न भुक्तानी उपकरणहरु कार्यान्वयन गरिसकेका छन्। 

नेसनल पेमेन्ट स्विचको पहिलो चरणमा रिटेल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डबमोजिम नेपालपे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा ई–म्यान्डेटका उपकरणहरु, वालेट–वालेटबीच अन्तरआबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्टलगायतका भुक्तानी उपकरण उपलब्ध छन्।