काठमाण्डौ । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता–२०८० को महिलातर्फको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ। 

संविधान दिवसको अवसरमा आयोजना गरिएको अन्तरबैंक फुटसल प्रतियोगितामा महिलातर्फ २० वटा बैंक तथा वित्तीय संस्था सहभागी भएका थिए। प्रतियोगितामा पुरुष र महिलातर्फ खेल भएको थियो। 

प्रतियोगितामा महिलातर्फको विजेता हुनुका साथै सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधिसमेत जितेको छ। फाइनल खेलमा ग्लोबल आइएमई बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई २–१ ले हराएको हो। प्रतियोगिताभरि ग्लोबल आइएमई बैंकले आफनो सम्पूर्ण खेलमा सहज जित निकालेको थियो। 

त्यस्तै, सर्वाधिक गोलकर्ताको उपाधि ग्लोबल आइएमई बैंकका चन्द्रिका भट्टले हात पारेकी छन्। उनले ७ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधि पनि जितिन्। यसका साथै बैंकका तर्फबाट गोलरक्षक केशमाया गुरुङले सबै खेलहरुमा उत्कृष्ट बचाउ गर्नुका साथै फाइनल खेलमा आफ्नो टिमका तर्फबाट पेनाल्टी हाल्ने अवसरलाई गोलमा परिणत गरी टिमलाई विजेता बनाउन महत्वपूर्ण भूमिका खेलिन्। 

विजेता ग्लोबल आइएमई बैंकका तर्फबाट टिम कप्तान चन्द्रिका भट्टको नेतृवमा लुनिभा भुजुँ, पुष्पा कोइराला, शुभेक्षा बिडारी, रामकुमारी लिम्बु, केशमाया गुरुङ र शोभा न्यौपाने सहभागी भएका थिए। टिम व्यवस्थापकको भूमिकामा गुन्जिता शर्मा र प्रशिक्षकमा सागरबहादुर सिंहको सहभागिता थियो। 

टिम प्रशिक्षक सिंहले प्रतियोगितामा आफ्नो टिमलाई विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।