काठमाण्डौ । ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । 

कम्पनीले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकहरुले भने सहज रुपमा कर्जा सार्न सक्नेछन् ।

यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढिको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने छन् ।

कम्पनीले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रहेर आवश्यक कागजातहरु पेश गरेको तीन कार्य दिन भित्र विना झन्झट कर्जा प्रवाह गर्ने बताएको  छ।

कम्पनीले ग्राहकहरुले देशैभरका ७७ वटै जिल्लामा फैलिएका आफ्ना ३५५ वटा शाखाहरुबाट यस्तो खालको सुविधा उपभोग गर्न सक्ने बताएको छ ।

यस्तो योजना सीमित अवधिको लागि ल्याइएको उसको भनाइ छ ।