काठमाण्डौ । देशका चर्चित व्यापारी, मोवाइल विजिनेशका टाइकुन दीपक मल्होत्रा घाटामा गएका कम्पनीहरु बन्द गरी कृषिमा हाम्फालेका छन् । 

निकै महत्वकांक्षी योजनासहित मल्होत्रा कृषि क्षेत्रमा हाम्फालेका हुन् ।

नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्ष समेत रहेका मल्होत्राले आफ्नो ड्रिम प्रोजेक्टको रुपमा कृषिमा निकै ठूलो आकारमा काम गर्ने योजनाअनुसार प्रदेश १ को सुनसरीमा काम नै थालिसकेका छन् । सुनसरीको साहेबगञ्ज क्षेत्रमा रहेको मल्होत्राको आफ्नै २५ विगाहा जग्गामा उनले पाइलट प्रोजेक्टको काम सुरु गरिसकेका हुन् । 

सो क्षेत्रमा करिब ४ करोडको सुरुवाती लगानीमा कागती, मेवा, स्ट्रबेरीको व्यवसायिक खेती थालिएको मल्होत्राले जानकारी दिए । 

मल्होत्राको यो पाइलट प्रोजेक्ट मात्र हो, मास्टरप्लान भने बन्नै बाँकी छ । ‘लकडाउन लगायतका कारणले मास्टर प्लान बनाउन केही ढिला भयो ।’ उनले बिजशालासँग भने–‘अब त्यसलाई समेत टुंग्याएर कृषिमा पूर्ण रुपमा केन्द्रीत हुने सोंचेको छु।’ 

घाटामा गएका कम्पनी बन्द
मल्होत्राको आइएमएस ग्रुप नेपालमा चर्चित र सफल व्यवसायिक समूह हो । सामसङ मोवाइलको नेपालका लागि आधिकारिक बिक्रेता समेत रहेका मल्होत्रा सरकारी ठेक्कापट्टामा पनि स्थापित नाम हो । 

यस्तै, उनले केवल टिभीदेखि रियल स्टेटसम्ममा लगानी गर्दै आएका छन् । तर, अब घाटामा गएका र झमेला बढी हुने विजिनेशसँग सम्बन्धित कम्पनीहरु नै बन्द गर्ने उनले तयारी थालेका छन् । 

‘अब म मेरो रियलस्टेट विजिनेश क्वीट गर्दैछु। लामो समयदेखि गर्दै आएको सरकारी ठेक्कापट्टाको काम पनि छाडिदिन्छु।’ मल्होत्राले भने–‘कोरियन गाडीको विजिनेश त्यसै लशमा छ, त्यो पनि विस्तारै क्वीट गर्ने नै हो । स्पेशटाइम नेटवर्क समेत क्वीट गर्छु ।’ 

उनकाअनुसार पाइपलाइनमा भएका प्रोजेक्टहरु समेत छोरा दिकेश मल्होत्रा र समूह तथा परिवारका अन्य सदस्यलाई सुम्पिएर उनी पूर्ण रुपमा कृषिमा केन्द्रीत हुनेछन् । 

उनले संचालन गर्न थालेको ‘सेल पे’ घाटामा भए पनि क्वीट हुनेछैन । ‘सेल पे मेरो प्रतिष्ठासँग जोडिएको छ, त्यही भएर यो चाहिँ क्वीट गर्न मिल्दैन ।’–कारण सुनाउँदै उनले थपे । 

किन कृषि नै ?
मल्होत्राकै भाषामा भन्दा उनले सुरु गरेका जुनसुकै काम अहिलेसम्म असफल भएका छैनन् । तर, एउटा काममा मात्र केन्द्रीत हुँदा उनले बढी सफलता पाएका छन् । पछिल्लो समय धेरै क्षेत्र र व्यापारमा हात हालेका कारण आफू कतिपय विजिनेशमा फोकस नै हुन नसकेको उनलाई महसुस भएको छ । ‘सिस्टममा नचल्ने यो देशमा धेरैखालका व्यापारमा हात हालेर काम रहेनछ ।’ उनले भने–‘यस्तो देशमा धेरैवटा काममा हात हाल्दा भद्रगोल हुने रहेछ ।’ 

उनले नेपालमा सन् १९९६ बाट मोवाइलको विजिनेश थालेका थिए । त्यसअघि पनि मल्होत्रा इम्पोर्ट विजिनेशमै सक्रिय थिए । त्यसपछि भने उनले धेरै सेक्टरका व्यापारमा हात हाले । कतिपय ठाउँमा सुपर सफलता हात पारे भने कतिपयमा भनेजस्तो भएन । तर , अब उनी दशथरि कामको तनाव नलिने निश्कर्षमा पुगेका छन् । 

यसरी एउटै, तर महत्वकांक्षी प्रोजेक्टमा केन्द्रीत हुने योजना अनुरुप उनले रोजेका छन् कृषि क्षेत्र । कृषि उनको ड्रिम प्रोजेक्ट पनि हो । कृषि नै किन त ? ‘मेरो आत्मासन्तुष्टिका लागि पनि यो क्षेत्र रोजेको हुँ।’ उनले भने–‘कृषि अति आवश्यक पर्ने क्षेत्र हो, यसमा ठूला व्यवसायिक घरानाहरु फोकस हुनुपर्छ, अरुका लागि पनि प्रेरणा होस् भनेर पनि म यसतर्फ लागेको हुँ ।’

नेपालको कृषि क्षेत्र रुग्ण रुपमा रहेकोमा मल्होत्रालाई मन परेको छैन । माओवादी द्वन्द्वकाल र त्यसपछिका राजनीतिक अस्थिरताहरुले कृषि क्षेत्र झनै छायाँमा परेको र वैदेशिक रोजगारीमा युवा शक्ति आकर्षित बन्दा गाउँघरका खेतीयोग्य जमीन पनि बाँझो भएको उनी बताउँछन् । ‘मानिसहरु इजी मनीतर्फ लागे, कृषिमा कसैको ध्यान नै गएन, जबकि सबैभन्दा महत्वपूर्ण र अधिक संभावना भएको क्षेत्र चाहिँ कृषि नै हो ।’ उनले थपे–‘हामीले उपभोग गर्ने कृषिजन्य उत्पादन समेत विदेशबाट ल्याउनुपर्ने बिडम्बनापूर्ण अवस्था देख्दा साह्रै नराम्रो लाग्छ ।’ 

उनले व्यावसायिक र व्यवस्थित ढंगले कृषिमा केन्द्रीत हुने हो भने विदेशबाट फर्किएका युवाहरुलाई स्वदेशमै रोजगारी दिन सकिने, स्वदेशका लागि आवश्यक कृषिजन्य उत्पादनहरुमा आत्मनिर्भर बन्न सकिने र राम्रै हुँदै गएमा कृषिजन्य उत्पादन निर्यात समेत गर्न सकिने प्रशस्तै संभावना देखिरहेका छन् । ‘म यही संभावनालाई यथार्थमा रुपान्तरण गर्न कृषिमा गएको हुँ ।’ उनले प्रष्ट पार्दै भने–‘कृषिमा अन्य व्यापारमा जस्तो फाइदा छैन भनिन्छ, तर यो गलत हो । यहाँ धेरै रिटर्न र फाइदा छ । यो क्षेत्रमा लाग्दा देशका लागि पनि योगदान हुनेछ ।’ 

उनी यदि देशको कृषि क्षेत्रलाई कायापलट गर्ने हो र कृषि उत्पादनमा देश आत्मनिर्भर बन्ने हो भने आफूजस्ता ठूला व्यापारी तथा व्यापारिक घराना समेत कृषिमा केन्द्रीत हुनुपर्ने बताउँछन् । ‘सरकारको एक्लो प्रयासमा मात्रै केही हुँदैन ।’ उनले भने–‘कृषिलाई माथि उठाउन हामीजस्ता ठूला व्यापारी पनि लाग्नुपर्छ ।’ 

कोल्डस्टोरेजदेखि आफ्नै बिउसम्म
मल्होत्रा कृषिमा केन्द्रीत भई खेतीपाती गर्ने र उत्पादनमा मात्र सीमित हुने छैनन् । उनको ‘मास्टर प्लान’मा खेतपातीदेखि लिएर कृषि बजार संचालन, कृषकले उत्पादन गर्ने कृषिवस्तुको भण्डारणका लागि कोल्ड स्टोरेजको व्यवस्था, कृषिमा आधारित उद्योगहरु स्थानीय स्तरमै संचालन, भूमि बैंकमार्फत आफैं जग्गा किनेर वा लिजमा लिएर वृहत रुपमा खेतीपाती, आफ्नै बिउबिजन कम्पनी, कृषिका अत्याधुनिक औजारहरुको आयातका लागि आफ्नै कम्पनी स्थापना लगायतका विषय समावेश छन् । 

उनले ठाउँ–ठाउँमा अत्याधुनिक खेती गरी परम्परावादी खेती प्रणालीलाई प्रतिस्थापन गर्नेछन् । योसँगै स्थानीय कृषकहरुलाई अत्याधुनिक खेती शैलीको विषयमा समेत ज्ञान दिनेछन् । 

मल्होत्रा कृषिको वृहत प्रोजेक्टका साथ सातैवटा प्रदेशमा केन्द्रीत हुनेछन् । यसका लागि सुरुवातमा उनले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने योजना बनाएका छन् । 

कति गर्दैछन् लगानी ? 
मल्होत्राको आइएमएस ग्रुपले सुरुवातमा १ अर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको छ । बाँकी ४ अर्ब जति बैंकबाट लोन लिएर ५ अर्बबाट विभिन्न क्षेत्रमा ड्रिम प्रोजेक्ट सुरु गरिनेछ । भनेजस्तो हुँदै गयो भने आइएमएस ग्रुपले लगानी अझै थप्दै जानेछ । 

मल्होत्रालाई थाहा छ, कृषि उनको आत्मसन्तुष्टिको माध्यम बन्ने भए पनि यो क्षेत्रमा हाम्फालेर सफलता हात पर्न कठीन छ । ‘तर म चुनौतिलाई नै स्वीकार गरेर अगाडि बढिरहेको मान्छे हुँ, यसलाई पनि पार लगाइछाड्छु।’ उच्च आत्मविश्वाससहित उनले भने–‘हामी आएपछि लकडाउनको बेलामा जस्तो कृषकले आफ्नो उत्पादनको बजार नपाएर सडकमा फाल्नुपर्ने अवस्था चाहिँ आउन दिंदैनौं ।’