काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेड र सहिद स्मारक “ए” डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडबीच मुख्य प्रयोजकका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

अपी पावर कम्पनीका तर्फबाट कम्पनीको कार्यकारी संचालक सञ्जीव न्यौपाने र चर्च ब्वाइज युनाइटेडका तर्फबाट क्लबका अध्यक्ष टंकलाल राईबीच १ वर्षका लागि मंगलबार अपी पावर कम्पनीको प्रधान कार्यलयमा सम्झौता सम्पन्न भएको हो। 

यसका साथै अबउप्रान्त क्लबले अपी पावर चर्च ब्वाइज युनाइटेडका नामबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुनेछ। क्लबको पूर्वाधार विकास तथा खेलाडीको स्तरोन्नतिका लागि अपी पावर कम्पनीले चर्च ब्वाइज युनाइटेडलाई सहयोग गर्नेछ।

छोटो समयमै सहिद स्मारक “ए” डिभिजन खेल्न सफल चर्च ब्वाइज युनाइटेडलाई थप उचाइमा पुर्याउन सफल साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा थप सफलता हासिल गर्ने उद्देश्यका साथ सम्झौतामा हस्ताक्षर भएको छ। नेपालको फुटबललाई नयाँ उचाइमा लैजानुका साथै खेलाडीलाई प्रोत्साहन गरी क्वबको संरचना बलियो बनाउने सहमति भएको छ।

कम्पनीले खेलकुदको माध्यमबाट मुलुकको आर्थिक एवं सामाजिक रुपान्तरण गर्ने उद्देश्यका साथ आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको सहयोग उपलब्ध गराउने भएको छ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत अपी पावर कम्पनीको हाल दुईवटा जलविद्युत र दुई टा सौर्य आयोजनासहित पाँचवटा आयोजना सञ्चालनमा रहेको र ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको छ।