बुटवल । लुम्बिनी केबलकार लिमिटेडले नेपालीहरुको महान चाड दसैँ, तिहार, नेपाल संवत र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ। 

आज असोज २१ गतेदेखि लागू भएको यो अफरमा साविक टिकट दरमा शनिबारबाहेक अन्य दिनमा ४० प्रतिशत छुट दिइएको छ। यो अफरअनुसार अब शनिबारबाहेक अन्य दिनहरुको टिकट दर ४५० रुपैयाँमात्र कायम भएको छ। 

नेपालीका महान चाडपर्वका अवसरमा आमसर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैँजूले जानकारी दिए। टिकट दरमा छुटसँगै कम्पनीले केबलकारको टप स्टेसनमा रहेको रेस्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट पनि दिने उनले जानकारी दिए।

चाडपर्वमा आमसर्वसाधारण परिवारसहित केबलकार चढ्न र देवी मन्दिर दर्शन गर्न सहज होस् भनेर ल्याइएको यो अफर यसअघिको मर्निङ अफरजस्तै सफल हुने कम्पनीले विश्वास लिएको छ।

आइएमई ग्रुपको मुख्य लगानी रहेको कुल ५ अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो। बुटवलको बमघाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा टप स्टेसन रहेको २.६ किलोमिटर दूरीको केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्ष पुरानो दुर्गा भगवती मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेको छ। 

टप स्टेसनमा कम्पनीले ४० लाख लागतमा जिपलाइन सञ्चालनमा ल्याइसकेको छ भने छिट्टै डेढ करोड रुपैयाँ बढी लागतमा स्काई साइक्लिङ, विद्युतीय पिङ र बाल उद्यान बनाउँदैछ।

कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटक आउने गरेका छन्। केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्कबापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिने गरी सम्झौता भएको छ। उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशतका दरले बाँडफाँट गर्ने गरी सम्झौता भएको छ। टप स्टेसनमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा, १ हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनोसहित पाँचतारे होटेल बनाउने तयारी गरेको छ।