काठमाण्डौ । देशका चार महानगरपालिकामध्ये विवादका कारण हालसम्म रोकिएको भरतपुर महानगरपालिकाको मतगणना भर्खरै सुरु भएको छ । 

बाँकी तीनवटा महानगरको मतगणना भने भइरहेको छ । मतगणनाको प्रारम्भिक नतिजनामा तीनवटै महानगरपालिकामा एमालेले अग्रता लिएको छ । 

बिहानसम्म ललितपुरमा कांग्रेस उम्मेद्वार अगाडि देखिएकोमा उसलाई उछिनेर त्यहाँ पनि एमालेले अग्रता लिएको छ । यस्तै, केही घण्टाअघिबाट सुरु भएको काठमाण्डौ महानगरपालिकामा पनि एमालेले नै अग्रता लिएको छ । उसलाई कांग्रेसले पछ्याइरहेको छ । 

पोखरा लेखनाथ नगरपालिकामा समेत मतगणना सुरु भएको छ । यो महानगरपालिकामा एमालेका उम्मेद्वारले कांग्रेसका उम्मेद्वारलाई डबल मत अन्तरले लिड गरिरहेका छन् । पोखरामा कांग्रेस र माओवादी तालमेल सफल नभएको प्रारम्भिक मत परिणामले पुष्टि गरेको छ । 

पोखरामा जस्तै भरतपुरमा पनि कांग्रेस माओवादी गठबन्धनले काम नगर्ने कतिपयको विश्लेषण छ । यस्तो भयो भने भरतपुरमा पनि एमालेले नै अग्रता लिन सक्ने विश्लेषण गरिएको छ । 

प्रारम्भिक मत परिणाम आएका तीन महानगरमा माओवादी केन्द्रको अवस्था भने नाजुक छ ।