काठमाण्डौ । निकै उत्साहका साथ पहिलो चरणको स्थानीय निर्वाचन अन्तरगत मतदान कार्य आइतबार सम्पन्न भएको छ । निर्वाचन आयोगले जिल्लाहरुबाट आएका विवरणलाई आधार मानी ७१ प्रतिशत मत खसेको बताएको छ । उत्साहप्रद मतदान छिटपुट घटनाबाहेक शान्तिपूर्ण नै रह्यो।

मतदान कार्य सम्पन्न भएपछि काठमाण्डौ लगायतका क्षेत्रमा मतगणना आज रातिदेखि नै सुरु हुने निर्वाचन आयोगले स्पष्ट पारेको छ । 

मतदान कार्य सम्पन्न भएपछि अब चुनाव भएका निकायमा कसले बाजी मार्ला भनेर सर्वत्र चासो छ । विशेष गरी काठमाण्डौ लगायतका चार महानगरमा कुन दलको उम्मेद्वारले इतिहास रच्ला भन्ने प्रतिक्षा समेत व्यग्र देखिएको छ । चुनावी अभियानको क्रममा हामीले भरतपुर, पोखरा, काठमाण्डौ र ललितपुुर महानगरपालिकामा इलेक्सन एक्सप्रेस अभियान संचालन गरेका थियौं । सो क्रममा देखिएका घटनाक्रम, पार्टीभित्रको चरम असन्तुष्टि, मतदाता शिक्षामा गरिएको कञ्जुस्याई लगायतलाई आधारमा मानेर मतपेटिकाभित्र निश्चित भइसकेको जितलाई हामीले विश्लेषणसहित आँकलन गर्ने कोशिश गरेका छौ । हेरौं विशेष रिपोर्ट :

काठमाण्डौमा एमाले अघि
देशको केन्द्र काठमाण्डौ महानगरपालिकामा को मेयर बन्ला भनेर सिंगो देशले चासो दिइरहेको छ । काठमाण्डौमा सबै ठूला साना दल र केही नयाँ दलले समेत उम्मेद्वार प्रस्तुत गरेका थिए । विशेष गरी साझा पार्टीका उम्मेद्वार किशोर थापा र विवेकशील दलका उम्मेद्वार रञ्जु दर्शनाको पनि चर्चा परिचर्चा सामाजिक सञ्जालहरुमा खुुबै भएको छ । दर्शना र थापालाई समेत निर्वाचनको क्रममा राम्रै मत गएको सर्वेक्षणहरुले देखाएका छन् । तर, सबै सर्वेक्षणहरुको एउटै निश्कर्ष छ ः दर्शना र थापाले कांग्रेसको भोट राम्रैसँग काटिदिएका छन् । यसको स्पष्ट अर्थ हो यो क्षेत्रमा एमाले बलियो देखिएको छ । तर, एमालेकै लागि खसेका मतहरु समेत धेरै बदर हुने संभावना देखिएको भन्दै अध्येताहरुले संभावित परिणाम यो नै होला भन्न नसकिने अवस्था रहेका दाबी गरेका छन् । यो पटकको निर्वाचनमा धेरै दलहरुले भोट माग्ने अभियानलाई मात्र तीव्र पारे, मतदाता तथा आफ्नै कार्यकर्ताहरुलाई समेत मत कसरी खसाल्ने भन्ने बिषय सिकाएनन् । छोटो समयमै निर्वाचन गर्नुपर्ने बाध्यताले यो बिषयमा निर्वाचन आयोगले समेत काम गर्न सकेन । यी सबै कुराको नकारात्मक प्रभाव यो पटकको चुनावमा पर्ने र मत धेरै बदर हुने अनुमान गरिएको छ । यदि एमालेलाई हालिएको मत बढी बदर हुने अवस्था आयो भने सुनिश्चित देखिएको एमाले जितमा बाजी भने अर्कैले मार्नसक्ने एक सर्वेक्षक दाबी गर्छन । यसरी हेर्दा काठमाण्डौको मेयरमा जित हासिल गर्ने पहिलो संभावना बोकेको व्यक्ति हुन् एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्य । उनले नजितेको अवस्थामा दोश्रो संभावना कांग्रेसका उम्मेद्वार राजुराज जोशी पनि हुन् । बाँकी उम्मेद्वारहरुको चाहि राजनीतिक आधार उति बलियो नभएकोले केही सय भोट मात्र आउने र उनीहरुको उम्मेद्वारी हल्लामै सीमित हुने देखिन्छ । 

ललितपुरमा पनि एमाले नै बलियो
प्रारम्भिक सर्वेक्षणका आधारमा ललितपुर महानगरपालिकाको भावी मेयरमा समेत एमालेकै उम्मेद्वारहरुको संभावना बढी छ । कारण, यो क्षेत्रमा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् । राप्रपाको मत पनि केही हजार रहेको र मेयरमा कांग्रेस तथा माओवादी केन्द्रका समेत आ–आफ्नै उम्मेद्वार प्रस्तुत भएकाले राप्रपाको सहयोगले यो क्षेत्रमा एमालेले विजयको माला पहिरिने आँकलन गरिएको छ । ललितपुरका धेरै भूूभागमा एमालेको राम्रै पकड रहेको छ । आफैं पनि बलियो रहेको एमालेलाई राप्रपाको होस्टेले थप सहयोग पुुग्ने बताइन्छ । तर, यो क्षेत्रमा कांग्रेसलाई समेत कमजोर आँक्न मिल्दैन । सर्वेक्षणहरुको रिपोर्ट, विश्लेषकहरुको आँकलन लगायतले यो क्षेत्रमा मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस नै रहेका देखिएको छ । यहाँ पनि मत बदरको उही समस्या छ । धेरै मत बदर भयो भने त्यसले समेत सम्बद्ध पार्टीको भविष्य निर्धारण गर्ने देखिन्छ । एमालेले जित हासिल गर्न नसकेको यो अवस्थामा यो क्षेत्रमा कांग्रेस अगाडि आउने देखिन्छ । काठमाण्डौमा जस्तै ललितपुरमा पनि माओवादीको कुनै संभावना छैन । 

भरतपुरमा रेणुलाई हम्मे
यो पटक चार महानगरमध्ये चर्चाको शिखरमा रहेको महानगर भरतपुर पनि हो । कारण यो क्षेत्रमा प्रधानमन्त्रीपुत्री रेणु दाहालले पार्टीकै नेता तथा कार्यकर्तालाई समेत जिल्ल पार्दै टिकट पाएकी थिइन । उनको उम्मेद्वारीको बिषयलाई लिएर माओवादीभित्रै पनि निकै ठूलो असन्तुष्टि रहेको पाइएको छ । उनको चुनावी अभियानमा माओवादी चितवनका जिल्ला अध्यक्ष इन्द्रजित परियार र अन्य जिल्ला नेताहरुको असहयोग रहनुु, नेता तथा कार्यकर्ता पुत्रीमोहको विरोधमा रहनुु र प्रचण्डले थुमथुम्याउँदा समेत नमान्नुु लगायतका कारणले दाहाललाई आफ्नै पार्टीका कार्यकर्ताले समेत भोट नदिने अवस्था छ। भरतपुरमा माओवादी र कांग्रेसले यसपटक तालमेल गरेका थिए, जुन निकै असफलप्राय देखिइसकेको छ । माओवादीलाई मेयरमा समर्थन गरेको बिषयलाई लिएर कांग्रेस चितवनभित्र भाँडभैलो र कुटाकुट नै भएको थियो । यति तीव्र असन्तुुष्टि रहेको पार्टीका कार्यकर्ताले भोट दिएर रेणुुलाई जिताउलान् भन्ने आधार देखिँदैन । यो क्षेत्रमा एमालेले देवी ज्ञवालीलाई मेयरमा प्रस्तुत गरेको छ । उनी भरतपुर नगरपालिकाका पूर्व उपमेयर समेत रहेका र एमालेको भरतपुर क्षेत्रमा राम्रो प्रभाव रहेकोले समेत यहाँ एमालेको जित सुनिश्चित देख्नेहरुको संख्या बढी छ । यी दुुई बाहेक राप्रपाका उम्मेद्वारलाई समेत यो क्षेत्रमा बलियो मानिन्छ । माओवादीलाई नदिइने कांग्रेसका भोटहरु राप्रपालाई गयो भने यसले एमालेलाई असर पर्न सक्छ । यसरी भरतपुरमा पनि एमाले नै अगाडि देखिन्छ । यहाँ एमाले र माओवादी उम्मेद्वारबीच जितहार हुँदाको अवस्थामा झिनो मतको अन्तर हुने देखिएको छ । 

पोखरामा अन्तरघातको डर
पोखरामा कांग्रेस र एमाले नै अगाडि रहे पनि उनीहरुभित्रका अन्तरघातीहरुले चुनावी परिणामलाई प्रभावित पार्नसक्ने डर नेताहरुमा देखिएको छ । एमालेभन्दा पोखरामा कांग्रेस बढी समस्याग्रस्त छ । कांग्रेसभित्र अन्तरघात निकै ठूलो स्तरमा हुने र त्यसले एमालेलाई फाइदा पुुग्ने सर्वेक्षणको क्रममा देखिएको छ । अघिल्लो दिनसम्म मेयरमा एउटाको नाम चर्चामा ल्याएर रातारात रामजी कुँवरलाई टिकट दिइएपछि उत्पन्न असन्तुष्टिलाई कांग्रेसले व्यवस्थापन गर्न सकेन । यसको फाइदा एमालेलाई हुने देखिन्छ । 

कांग्रेस नेताहरुको भनाईमा कांग्रेस–माओवादी तालमेलको प्रयोग पोखरामा समेत असफल भइसकेको छ । स्थलगत अध्ययनको क्रममा केन्द्रबाट चुनावी तालमेल भए पनि पोखरामा कांग्रेस र माओवादीबीचको तिक्तता तथा पानी बाराबार अवस्था भरतपुरको भन्दा पनि गम्भीर देखियो । 

त्यति मात्र होइन, पोखरामा कांग्रेसका मेयर उम्मेद्वारलाई माओवादीले सहयोग गर्ने र त्यसको बदला माओवादीको उपमेयर पदका उम्मेद्वारलाई सघाउनुुपर्ने माओवादी शर्त कांग्रेसले पालना नगरेको देखियो । यहीकारण, कांग्रेस तालमेलको कुरालाई पर सारेर चुनावी अभियानमा मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुंगलाई नै भोट माग्दै हिँडेको थियो । यसको प्रभाव मतदानमा समेत देखिएको छ ।

यहाँ माओवादीले पनि आफ्नो प्रचार सामाग्रीमा रामजी कुँवरका लागि कुनै स्थान दिएको देखिएन । पर्चा पम्प्लेटदेखि लिएर माइकिङसम्ममा पनि माओवादी कार्यकर्ताले रामजी कुँवरको नाम समेटेका थिएनन् । यसको अर्थ हो यहाँका माओवादीले कांग्रेस उम्मेद्वारलाई भोट हालेनन् । धेरै माओवादी कार्यकर्ताले जात मिल्ने भन्दै एमालेलाई भोट हालेका कतिपयको बुुझाई छ । 

‘माओवादीहरु इमानदार छैनन् । उनीहरुले हाम्रा मेयरका उम्मेद्वारलाई भोट हाले भन्ने हामीलाई विश्वास छैन ।’ रामजी कुँवरको चुनावी अभियानको अगुवाई गर्दै आएका प्राध्यापक तथा पुराना कांग्रेस नेताले भने–‘यहीकारण हामी कांग्रेस आफ्नै मतले जित्ने अभियानमा लागेका थियौं, तर हाम्रैभित्रका अन्तरघातीले बिगारे कि भन्ने शंका छ ।’ 

कांग्रेस नेताहरुकै विश्लेषणमा समेत पोखरा लेखनाथ महानगरपालिकाका ३३ वटा वडामध्ये १५ वडाको अध्यक्षमा मात्र पार्टीले जित हात पार्ने अवस्था छ । बाँकी १८ वडामा चाहि एमालेले एकलौटी जित हासिल गर्ने उनीहरु बताउँछन् । ‘संविधानसभा निर्वाचनको अवस्था हेर्ने हो भने त पोखराको स्थानीय निर्वाचन पनि एमालेले नै जित्ने देखिन्छ ।’ ती पुराना कांग्रेस नेताले भने–‘माओवादीको मेयरतर्फको उम्मेद्वार नभएका र उनीहरुले कांग्रेसको मेयरलाई मत नहालेपछि बरु जात मिल्ने र कतिपय एजेण्डा मिल्ने एमालेलाई भोट हाल्नेछन्, यसले कांग्रेसलाई थप क्षति पुुग्नेछ ।’ 

पोखरा लेखनाथ महानगरपालिकामा सुकुम्बासीहरुको भोट संख्या निकै ठूलो छ । ती कांग्रेस नेताको बुुझाईमा सुकुुम्बासी बस्तीहरुमा माओवादी पकड राम्रो छ । कांग्रेस उम्मेद्वारलाई भोट नदिने रणनीति बनाएपछि सुकुुम्बासीहरुले एमालेलाई भोट हालेका छन् । 

उता, एमालेका स्थानीय नेताहरु भने पोखरा लेखनाथ महानगरपालिकामा ६० प्रतिशत मत ल्याएर जित्ने दाबी गरिरहेका छन् । एमालेभित्रै पनि उम्मेद्वार छनौटको बिषयमा वडा–वडामा असन्तुष्टि थियो । ‘चुनावी अभियानमा वडामा उठ्न नपाएका कार्यकर्ताहरुले उम्मेद्वारहरुलाई सहयोग नगर्ने, घरैबाट बाहिर ननिस्किने जस्ता असहयोग पनि गरिरहेका छन् । एमाले कास्कीका एक जिल्ला सदस्यले भने–‘यस्तै अन्तर्घात भयो भने एमालेलाई पनि जित्न गाह्रो छ ।’ यदि एमालेभित्र अन्तर्घात भएन भने र माओवादी र कांग्रेसभित्रको असन्तुष्टहरुबाट पनि मत आयो भने एमालेको शानदार जित हुने उनको भनाई छ ।