काठमाण्डौ । स्किल विक २०२२ को तेस्रो संस्करण आइतबार सम्पन्न भएको छ। 

द सोल्टी होटेलमा आयोजित विशेष जमघटबीच उद्यमी, सरकारी कूटनीतिज्ञ र १०० बढी इच्छुक उत्साहीको उपस्थितिमा स्किल विक २०२२ समापन गरिएको हो। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे प्रमुख अतिथिका रुपमा उपस्थिति भएका थिए। 

स्किल विक एकहप्ते कार्यक्रम थियो। जसमा विभिन्न सीपमूलक तालिमहरुलगायत सीपयुक्त कार्यशाला, तालिम, केस स्टडीलगायत मनोरन्जनलाई मध्यनजरमा राख्दै सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिएको थियो। कलकारखाना, शैक्षिक संस्था एवं सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिई तिनै क्षेत्रबाट सीपमूलक रोजगारीका अवसर, बढ्दोे सीपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्यलाई स्किल विक कार्यक्रम २१ मार्च देखि २९ मार्चसम्म सञ्चालन भएको थियो।

कार्यक्रममा ४ फरक सीप क्षेत्र प्रदर्शन गरिएको थियो। जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य, विज्ञान तथा प्रविधि रहेका थिए।  

यसैबीच यी ४ विधामा ४ अत्यन्त प्रेरणादायक व्यक्तित्वलाई नबिल स्किल हिरो अवार्ड २०२२ उपाधिबाट सम्मानित गरेको थियो। पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष एवं एमडी  लक्ष्मण न्यौपानेलाई सम्मान गरिएको थियो। किनकि उनी पर्यटनको क्षेत्रमा प्रभावशाली ब्यक्तित्वका रुपमा चिनिन्छन्। 

त्यसैगरी कला र संस्कृतिको क्षेत्रमा गरेको समर्पणका लागि किरण मानन्धरलाई पनि सम्मान गरिएको थियो। उनी विगत ५ दशकदेखि नेपालमा समसामयिक कला क्षेत्रमा प्रख्यात छन्। 

उद्यमशीलता विधामा लक्ष्मी वुड क्राफ्ट उद्योगका संस्थापक तथा उद्यमी लक्ष्मी शर्मालाई उद्यमशीलताको क्षेत्रमा योगदान पुर्याएको भन्दै पुरस्कृत गरियो। विज्ञान र प्रविधि क्षेत्रका लागि तिलगंगा आँखा संस्थानका संस्थापक र दृष्टिविज्ञ नेत्र रोग विशेषज्ञ सन्दुक रुइतलाई सानो चिरा मोतियाविन्दुको शल्यक्रिया गरेर अफ्रिका र एसियाभरका १ लाख ८० हजारभन्दा बढी मानिसको आँखाको ज्योति पुनस्र्थापना गर्ने प्रयासका लागि सम्मान गरिएको थियो। 

नबिल स्किल हिरो– सस्टेनेबल बैंकिङ अवार्ड सुयल बखरा फर्मबाट एकराज सुयललाई सम्मान गरिएको थियो।

सोही दिन समापन समरोहलाई लक्षित गरेर सीईओ अनप्लग्ड २०२२ नामक भव्य कार्यक्रम सञ्चालन गरिएको थियो। जसमा ब्यापारका चुनौती, अवसर एवं प्रयोगात्मक शिक्षाको महत्व एवं नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न २ प्यानेल छलफल सञ्चालन गरिएको थियो। सीईओ अनप्लग्डको पहिलो प्यानल छलफल 'Rethinking Strategies for Sustainable Growth Balancing Priorities' एवं दोस्रो प्यानलमा छलफल  'Shaping the Future of Accelerated Skills Transformation'  शीर्षकमा आयोजना गरिएको थियो। कार्यक्रमको बीचमा राष्ट्रिय केस स्टडी प्रतियोगिताको फाइनल प्रस्तुति पनी सम्पन्न गरिएको थियो।

यो कार्यक्रम नबिल बैंकसँगको साझेदारिमा सन्चालन भएको थियो। यसका साथै रणनीतिक साझेदारका रुपमा बागमती प्रदेश, भारतीय राजदूतावास, दक्छयता, युरोपेली संघ, ब्रिटिस काउन्सिल नेपाल र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), एफएनसीसीआई– स्टार्टअप र इनोभेसन समिति ज्ञान साझेदारका रूपमा एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, इन्टरनेट साझेदारका रुपमा लुप नेटवर्क, आधिकारिक होटेल साझेदारका रुपमा सोल्टी होटेल, एयरलाइन्स साझेदारहरुका रुपमा टर्किस एयरलाइन्स र नेपाल एयरलाइन्स, साझेदारका रुपमा नेपाल टेलिकम, होन्डा, गोल्छा ग्रुप तथा माइक्रोसफ्ट, मनोरञ्जन साझेदारका रुपमा नेपाल आइस र अन्य सहयोगीहरु राष्ट्रिय वाणिज्य बैंक, डिश होम गो, राष्ट्रिय र रिलायन्स लाइफ इन्स्योरेन्स, पिक न् ड्रप, तथा कोजी होम रहेका थिए।