काठमाण्डौ । बागमती प्रदेशको चितवनमा स्टार्टअप एन्ड आइडिया फेस्ट आयोजना हुने भएको छ। लिभिङ विथ आइसिटीको आयोजनामा सोमबार (जेठ १६ गते) चितवनमा स्टार्टअप फेस्ट आयोजना हुने भएको हो। 

फेस्टमा बागमती प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा विद्यार्थीका लागि आइडिया सहभागी हुन सक्ने छन्। 

फेस्टसँगसँगै एक्सपिरियन्स सेयरिङ तथा मेन्टरिङ सेसन र आइडिया पिचिङसमेत आयोजना हुनेछन्। एक्सपिरियन्स सेयरिङ तथा मेन्टरिङ सेसनमा स्टार्टअप क्षेत्रमा काम गरी स्थापित भएका अग्रणी व्यक्तित्वहरुले आफ्नो उद्यम यात्रा अनुभव साट्ने र उद्यमशिलतामा प्रशिक्षण प्रदान गर्नेछन्।

त्यस्तै आइडिया पिचिङ सेसनमा सहभागी स्टार्टअपहरुको आफ्नो आइडिया प्रस्तुत गर्नेछन्। ती आइडियामध्येबाट उत्कृष्ट पाँच आइडियालाई इन्कुबेसनका लागि छनौट गरी सम्भावित लगानी भेन्चर्सहरूसँग समन्वय गरिनेछ।

यसअघि बागमतीबाहेकका ६ वटा प्रदेशमा स्टार्टअप एन्ड आइडिया फेस्ट उत्साहजनक सहभागिताका साथ सम्पन्न भइसकेको छ।