काठमाण्डौ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

जिल्ला प्रशासनमा स्थापित एक्स्टेन्सन काउण्टरको सोमबार चितवनका प्रमुख जिल्ला अधिकृत जितेन्द्र बस्नेतले एक समारोहका बीच उद्घाटन गरे। जिल्ला प्रशासनमा आउने सेवाग्राहीले अब विना झन्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासनमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासनमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र जिल्ला प्रशासनको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । प्रभु बैंकले १९६ वटा शाखा कार्यालय, १५२ वटा एटीएम, ३५ वटा एक्स्टेन्सन काउन्टर तथा १९ वटा शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।