काठमाण्डौ । ठूला सिमेन्ट र रड उद्योग संचालन गरेर वार्षिक करोडौंको कारोबार गर्ने शंकर ग्रुपका मालिक सुलभ अग्रवाल ज्वरो नाप्ने थर्मल गन महंगो मूल्यमा बिक्री गरेपछि कालोबजारीको आरोपमा पक्राउ परेका छन् । 

अग्रवाललाई मंगलबार महानगरी प्रहरी अपराध महाशाखाको टोलीले नक्सालबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार अग्रवालले रु. ५००० पर्ने थर्मल गनलाई रु. १५००० मा बिक्री गरिरहेका सूचनाका आधारमा गोप्य अनुसन्धान गर्दा पुष्टि भएपछि पक्राउ गरिएको हो । प्रहरीले आफ्नै एक जासूसलाई थर्मल गन किन्न ग्राहक बनाएर पठाएको थियो । अग्रवालले ग्राहक बनेर गएका सादा पोशाकका प्रहरीलाई रु. ५००० पर्ने गनको मूल्य १५००० भनेपछि उनी पक्राउ परेका हुन् । 

प्रहरीले अग्रवालको साथबाट ६७ थान थर्मल गन समेत बरामद गरेको छ । 

पक्राउ परेका अग्रवाल कीर्गिस्तानका लागि अवैतानिक महावाणिज्य दूत समेत हुन् । उनले सामान ओसारपोसार तथा कालोबजारीमा कुटनीतिक नियोगको गाडी समेत प्रयोग गरेका भेटिएको छ । उनको साथबाट २०९८ सीसी वान नम्बरको गाडी बरामद गरिएको प्रहरीले जनाएको छ । 

शंकर ग्रुपले शनिबार मात्र चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो। तिनै सामान परलभन्दा धेरै महंगो मूल्यमा बिक्री गर्ने गरिएको पाइएको हो ।