काठमाण्डौ । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका चन्द्र ढकालले उद्योग वाणिज्य संघका ७८ जिल्लानगरका अध्यक्षसहित १२७ जना पदाधिकारीहरुलाई चन्द्रागिरीको अवलोकन भ्रमण गराएका छन् । 

चन्द्रागिरी केवलकार तथा चन्द्रागिरी हिल्स रिसोर्टको मूख्य लगानीकर्ताको रुपमा रहेका ढकालले चुनवको मुखमा जिल्लानगरका उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई अवलोकन भ्रमण गराउनुलाई अर्थपूवर्ण रुपमा हेरिएको छ । 

उद्योग वाणिज्य महासंघमा ढकाल हाल उपाध्यक्ष छन् । चैतमा हुने महाधिवेशनमा उनी वरिष्ठ उपाध्यक्षमा चुनाव लड्न चाहेका छन् । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहेकोले भावी अध्यक्षमो रुपमा ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन् । 

उनलाई काउण्टर दिंदै किशोर प्रधानले समेत वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने घोषणा गरिसकेका छन् । 

चन्द्रागिरी केवलकारले जारी गरेको विज्ञप्तिमा अनौपचारिक भ्रमणको क्रममा रहेका पदाधिकारीहरुलाई चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा महाप्रबन्धक अभिषेकविक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका उल्लेख छ । 

भ्रमणको क्रममा पदाधिकारीहरुले चन्द्रागिरी देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको र आगामी दिनमा आ–आफ्नो जिल्लामा यस्तै पर्यटकीय गन्तव्य विकास सम्भावनाको खोजी गर्ने बताएका कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।