काठमाण्डौ । चौधरी फाउन्डेसन र चिसापानी अस्पतालबीच अस्पतालको सेवा सुदृढीकरण र स्तरोन्नति गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
आज मंगलबार एक कार्यक्रमबीच नवलपरासी (पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको चिसापानी अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालका रुपमा विस्तार गर्न द्विपक्षीय सम्झौता भएको हो।
नवलपरासी (पश्चिम) जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा त्यहाँका बासिन्दाले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन्। सामान्य बिरामी हुँदासमेत उनीहरुलाई उपचारका लागि बुटवल र भैरहवा जानुपर्ने अवस्था छ। यो अवस्थाको अन्त्यका लागि चौधरी फाउन्डेसनले चिसापानी अस्पताललाई रिफरल अस्पतालका रुपमा विकास गर्न पहल लिएको हो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले निर्वाचनका बेला चिसापानी अस्पताललाई विशेषज्ञ सेवासुविधासहितको अस्पतालका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका थिए। चुनावी प्रतिबद्धताअनुसार अस्पताललाई नवलपरासी जिल्लाकै सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्न लागिएको हो।
चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
फाउन्डेसन र अस्पतालबीच भएको सम्झौताअनुसार अस्पतालमा सहज र झन्झटमुक्त आपतकालीन र अन्य सेवा सुनिश्चित गरिनेछ। सातवटा क्षेत्रमा अस्पतालको स्तरोन्नतिका काम हुनेछन्। जसबाट विरामीहरुले स्थानीय तहमै भरपर्दाे स्वास्थ्य सेवा पाउनेछन्।
अस्पतालमा चौबीसै घन्टा ल्याब सुविधा उपलब्ध हुने, शल्यक्रिया सेवासहितको बर्थिङ सेन्टर स्थापना गरिन् र चौबीसै घन्टा आपतकालीन सेवाहरुको सुनिश्चितता गरिने सम्झौतापत्रमा उल्लेख छ।
यसैगरी ओपीडी दर्ताका लागि टोकन प्रणाली लागू गर्ने, आर्टिफिसियल लिम्ब (कृत्रिम हातखुट्टा) सेवा उपलब्ध गराउने र आगामी ४ वर्षभित्र अस्पताललाई आत्मनिर्भर बनाउने द्विपक्षीय समझदारी भएको छ।
अस्पताललाई रेफरल अस्पतालका रुपमा विकास गर्नको लागि वित्तीय योजना तयार गर्ने पनि सझदारी भएको छ। अस्पतालमा स्त्रीरोग विशेषज्ञ, सर्जन, प्रोस्थेटिस्ट, सामान्य सेवा विशेषज्ञ लगायतको सेवा उपलब्ध हुनेछ।
अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नगरपालिका, जनप्रतिनिधि, फाउन्डेसनका प्रतिनिधि, अस्पताल प्रशासन सबैको प्रतिनिधित्व रहने गरी समिति गठन हुनेछ।
सम्झौतापत्रमा हस्ताक्षरपछि प्रतिक्रिया दिँदै सांसद चौधरीले चिसापानी अस्पतालको विशेषज्ञसहितको सेवा प्रवाहले यहाँका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे। ‘निर्वाचनका बेला हामीले यो अस्पताललाई विशेषज्ञसहितको सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थियौँ। अब त्यसले साकार रुप लिन लागेको छ’, उनले भने, ‘आगामी दिनमा यस अस्पतालको सेवालाई थप विशिष्टीकृत बनाउँदै लैजान म निरन्तर लागि नै रहनेछु।’
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (सुप) पवन अग्रहरीले विनोद चौधरी सांसद निर्वाचित भएपछि विकासका कामहरु अगाडि बढेको बताए। उनले चौधरी बोल्नेभन्दा काम गर्ने नेता भएको बताए। ‘उहाँ (चौधरी) ले जितेलगत्तै आफ्नो टिम अस्पताल पठाउनुभयो। टिमले अस्पतालका समस्या औँल्याउनुभयो,’ सम्झौता कार्यक्रममा उनले भने, ‘अस्पताल सुधारका लागि सहयोग गर्ने वाचा दिनुभयो र छोटो समयमै आज सम्झौता भएको छ। उहाँहरुसँगको सहयोगमा अस्पतालले फड्को मार्छ भन्नेमा म विशस्त छु।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19