 
                     
                                Binod Chaudhary
 
                                    काठमाण्डौ । चौधरी ग्रूपले आर्थिक वर्ष २०७९/०८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको छ ।
यो सरकारको कुल राजस्वमा १.८७ प्रतिशतको योगदान हो । चौधरी ग्रूपअन्र्तगत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको ग्रूपले अनुमान गरेको छ ।
‘आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको समयमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको छ । अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको पृष्ठभुमिमा चौधरी ग्रुपको योगदान भने उच्च रहेको छ’, ग्रूपका प्रवक्ता मधुसुदन पौडेलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्–‘यद्यपी, राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यवसायिक कारोवारमा परेको असरका कारण अघिल्लो आर्थिक बर्ष २०७८/०७९ को तुलनामा चौधरी ग्रूपको राजस्व योगदानमा केही कमी आएको छ । उक्त आर्थिक वर्षमा ग्रूपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो ।’
देशको समग्र अर्थतन्त्र मन्दीबाट गुज्रिरहदा र सरकारको कुल राजश्व संकुचित बनेको समयमा पनि चौधरी ग्रूपले उच्च कर तिर्न सक्षम भएको तथ्यले आफूलाई उत्साहित बनाएको चौधरी ग्रूपका अध्यक्ष विनोद चौधरीले बताएका छन् ।
उनले भनेका छन्–‘राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान गर्न पाउँदा हामीलाई सन्तोष लागेको छ। हामीले नेपालमा द्रुत गतिमा लगानी विस्तार गरिरहेका छौँ र त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्नेछ भन्नेमा हाम्रो विश्वास छ ।’
अध्यक्ष चौधरीले नेपालमा लगानीको वातावरणमा सुधार गरी लगानीकर्तालाई प्रोत्साहित गरेर मात्रै राजस्वको दायरा फराकिलो बनाउदै लैजान सम्भव हुने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने र यस्तो सोंचबाट राजस्वको अपेक्षित बृद्धिदर हासिल भई राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्न सम्भव हुनेमा पनि जोड दिएका छन् ।
गत पाँच वर्षमा चौधरी ग्रूपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ६७ करोड, २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड र २०७९/८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको विज्ञप्तिमा उल्लेख छ ।

चौधरी ग्रूपले नेपाललाई मुख्य प्राथमिकतामा राखेर लगानी विस्तार गरिरहेको छ । खाद्य एवं पेय पदार्थ, हस्पिटालिटी, वित्तिय क्षेत्र, अटोमोवाईल्स, शिक्षा, पूर्वाधार एवं न्यू टेक्नोलोजीसम्ममा तीब्र गतिमा लगानी विस्तार गरिरहेको छ ।
‘नेपालको समग्र अर्थतन्त्रमा हामी प्रभावकारी योगदान पुर्याउन चाहान्छौँ’, चौधरी ग्रूपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘हाम्रो ग्रुप एकसय ५० बर्षदेखि नेपालको अर्थतन्त्रको विकासमा सक्रिय छ । र, हामी नेपालका सातै प्रदेशहरूमा लगानी विस्तार गरिरहेका छौँ । यसबाट देशको समावेशी विकासमा योगदान पुग्नेछ भन्ने हाम्रो विश्वास छ ।’
नेपालमा व्यवसायिक ग्रूपहरूले सरकारको राजस्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजस्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको छ ।
करदाताको रुपमा व्यवसायकोमार्फत् भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुँदैन । यसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिदै आएको विज्ञप्तिमा उल्लेख छ ।
‘यो द्विविधालाईलाई अन्त्य गर्न र आफुले राजस्वमा गरेको योगदानलाई आम जनमानसकाबीच सार्वजनिक जानकारीमा ल्याउन जिम्मेवार व्यवसायिक ग्रुपको सामाजिक उत्तरदायित्वका हिसावले चौधरी ग्रूपले प्रत्येक वर्ष पारदर्शिताका साथ यो विवरण प्रकाशित गर्ने गर्दछ’, विज्ञप्तिमा अगाडि भनिएको छ–‘साथै, व्यवसायिक ग्रुपहरूबाट राष्ट्रिय अर्थतन्त्रमा पुर्याइएको योगदानको वास्तविक तथ्य आम जनमानससमक्ष राख्न सरकारी स्तरबाटै व्यवसायिक ग्रूपहरूले तिरेको करको गणना गर्ने र सार्वजनिक गर्ने व्यवस्था मिलाउनका लागि पनि हामी सम्वन्धित निकायको ध्यानाकर्षण गराउदँछौँ ।’
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19