काठमाण्डौ । नेपालका नेताहरुमा सन्तान र आफन्तमोह विचित्रको छ । हिजो गिरिजामा देखिएको पुत्रीमोह, नातावाद र कृपावादको कडा विरोध गर्ने माओवादी अध्यक्ष प्रचण्डमा पनि उस्तै मोह देखिएको छ । यही मोहका कारण उनले स्थानीय निर्वाचनमा आफ्नी छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा जिताउनका लागि जस्तोसुकै सम्झौता गर्न पनि तयार रहेको देखाएका छन् ।

छोरीप्रतिको यही मोहका कारण उनले काठमाण्डौ र पोखराजस्तो महत्वपूर्ण शहरको मेयर पद कांग्रेसलाई जिम्मा लगाउने सम्झौता गरेका छन् । अध्यक्ष प्रचण्डको यो पुत्रीमोहको माओवादी केन्द्रभित्रै भने विरोध भइरहेको छ ।

एमालेले राप्रपासँग केही क्षेत्रमा चुनावी तालमेल गरेपछि तर्सिएको कांग्रेस र माओवादी समेत चार महानगरमा चुनावी तालमेल गर्ने सहमतिमा पुगेका हुन् । सहमति अनुसार काठमाण्डौ र पोखराको मेयरमा कांग्रेस उम्मेद्वारलाई माओवादीले सहयोग गर्नेछ भने भरतपुरमा माओवादी उम्मेद्वार प्रचण्ड पुत्रीलाई कांग्रेसले सहयोग गर्नेछ । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसले आफूहरुलाई सहयोग गर्नुपर्ने प्रचण्डको जोड रहे पनि यो बिषय चाहि अझै अनिर्णित छ।

कांग्रेससँगको नयाँ सहमतिपछि काठमाण्डौ र पोखरामा माओवादीका मेयरका उम्मेद्वार क्रमशः सर्वोत्तम डंगोल र विश्वप्रकाश लामिछानेको मेयरको सपना रातारात तुहिएको छ ।

यस्तै, प्रचण्डको पुत्रीमोहका कारण भरतपुरमा कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार दिनेश कोइराला हेरेका हेर्यै भएका छन् । कोइरालालाई मनोनयन दर्ता हुने दिन एकाएक चिठ्ठा परेपछि काठमाण्डौबाट हेलिकोप्टर भाडामा लिएर चितवन पुगेका थिए । उत्साही भएर चुनावी अभियानमा लागेका कोइराला कृष्ण सिटौलाका आशिर्वादप्राप्त व्यक्ति हुन् ।