काठमाण्डौ । इन्टरनेटको व्यपकतासँगै नेपालीहरु स्वदेशी उत्पादनहरुको विश्व बजारीकरण खोजिरहेका छन्। अस्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापानजस्ता देशहरुमा अहिले प्रशस्तै नेपाली उत्पादनहरु विस्तार गर्ने उद्यमीहरु भेट्न सकिन्छ।

यसै क्रममा लामो समयदेखि जापानमा बसोबास गर्दै आइरहेका आईटी तथा साइबर सेक्युरिटी क्षेत्रमा क्रियाशील युवा पवन थापा र सामाजिक अभियानमा सक्रिय रहेका कानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटाको एउटा प्रयासले सयौँ नेपाली कृषि उद्यमीहरुलाई जोड्नेछ। 

नेपाली समुदायका लागि केही नयाँ गर्ने हुटहुटिले जन्माएको प्लाट फर्म हो, आन्भी मार्केटप्लेस। आन्भी मार्केटप्लेस यही १७ फेब्रअरीमा सार्वजनिक हुँदैछ। 

जापानमा बस्ने नेपालीलाई लक्षित गर्दै विश्व बजारमा स्वदेशी उत्पादनहरु प्रवर्द्धन तथा बिक्री गर्ने उद्देश्यसहित आन्भी मार्केटप्लेसको सुरुआत भइरहेको प्रमुख कार्यकारी अधिकृत पवन थापा बताउँछन्। 

आईटीको कामबाटै राम्रो आम्दानी गरिरहेको भए पनि थापाको स्टार्टअपप्रतिको मोहले तानेको यो प्लाटफर्ममा जापानिज प्रतिष्ठित कम्पनीहरुसँग सहकार्य साथै टिपिकल नेपाली तथा इन्डियन रेस्टुरेन्ट व्यवसायमा संलग्न हरि सापकोटाले साथ दिएका छन्। 

यसमा मल्टिभेन्डर ईकमर्स प्लाटफर्म भएकोले जो कोहीले सहजै आफ्ना प्रडक्टहरु बिक्री गर्न सक्नेछन्। यसका लागि भेन्डरले कर्पोरेट डकुमेन्ट समावेश गरी रजिस्ट्रर गर्नुपर्ने हुन्छ।

यस प्लाटफर्ममा जापानमा सञ्चालनमा आएका बिशेषत खाद्य पसल र रेस्टुरेन्टहरुलाई आवश्यक सम्पूर्ण गुणस्तरीय प्रडक्टहरु सस्तो र सुलभ रुपमा उपलब्ध गराउने लक्ष्य लिएर अगाडि बडिरहेको थापाले जानकारी दिए। कम्पनीले आन्भी मार्केटप्लेस सार्वजनिक गर्ने अवसरमा पहिलो अर्डरमा २० प्रतिशत र जापानको डिजिटल पेमेन्ट सेवा ‘पेपे’ मार्फत भुक्तानी गरेको खण्डमा १० प्रतिशत क्यासब्याक उपलब्ध गराउने जनाएको छ। 

ग्राहकले सामान खरिद र रिफरल प्रोग्रामका आधारमा रिवार्ड पोइन्ट प्राप्त गर्नेछन्। उक्त पोइन्टलाई ग्राहकले रिडिम गरी नेपालमा रहेका आफन्तहरुलाई गिफ्ट पठाउन, मोबाइलमा टपअप गर्न तथा स्टोरमै सामान खरिद गर्दा प्रयोग गर्न सकिने सुविधा दिएको छ। 

सुरुआती चरणमा जापानको योकोहामा सहरमा होलसेल र रिटेल सुरु गरिएको निर्देशक हरि सापकोटाले बताए। अनलाइन ई–कमर्ससँगै गुणस्तरीय र समयमै सेवा विस्तार गर्न वेयरहाउस सञ्चालनका लागि पनि काम भइरहेको उनले जानकारी दिए।

जापानमा करिब एक लाख नेपाली बसोबास गर्दै आइरहेका छन् भने नेपाली उत्पादनहरु मन पराउनेको संख्या पनि उल्लेखनीय छ। यो अवसरलाई उद्यमशीलतामा जोड्दै नेपालीहरुकै लागि पनि रोजगारी सिर्जना गर्ने गरी यो समुहले काम गरिरहेको छ। 

नेपाली ग्रोसरीसँगै कम्पनीले नेपाली लत्ताकपडा र पुस्तक पनि मार्केटप्लेसमा समावेश गर्नेछ। अर्डर गरेको सोही दिन योकोहामा एरियामा डेलिभरी सुविधा दिनेगरी कम्पनीले काम गरिरहेको छ। अहिले योकोहामा सहरभित्र अनलाइन अर्डर गर्दा डेलिभरी शुल्क पनि लाग्दैन। 

वेबसाइट दुई महिनासम्म बेटा भर्सनमा सार्वजनिक हुनेछ र आवश्यकताअनुसार परिमाजर्नन र परिस्कृत गर्दै लैजाने कम्पनीले सार्वजनिक गरेको डकुमेन्टमा उल्लेख गरिएको छ। 

झन्डै ५ करोड लगानीमा सुरु भएको आन्भी मार्केटप्लेसले नेपालका स्वदेशी उत्पादन, ग्रोसरी तथा लुगाहरुलाई विदेशी बजारमा विस्तार गर्न लागिरहेको कम्पनीले भेण्डरको लागि आकर्षक सुविधा र अफरहरु पनि दिने जनाएको छ। नेपाली उद्यमीलाई जापानको बजारमा आफ्ना प्रडक्ट विस्तार गर्न यो एक महत्वपुर्ण अवसर पनि हुनसक्छ। 

नेपालमा उत्पादित उत्कृष्ट खाद्य, पेय र अन्य सामाग्रीहरु जापान पुर्याउन पनि आफूहरुको मुख्य उद्देश्य रहेको निर्देशक सापकोटाको भनाइ छ। नेपालबाट दर्जनौँ उद्यमीहरुले आफ्नो उत्पादन बिक्रीका लागि यस प्लाटफर्ममा जोडिने क्रम बढिरहेको उनले बताए। 

जापानमा पेपेलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्रास्ट्रिय पेमेन्ट गेटवेको प्रयोग गरी सामान खरिद गर्न सकिनेछ।