काठमाण्डौ। जावलाखेल गु्रप अफ इन्डस्ट्रिजले पछिल्लो २ सातामा सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानीय सामुदायिक संस्थाको अग्रसरतामा कोभिड १९ प्रभावित लक्षित समूहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आईसीयूलगायत अन्य स्वास्थ्य सामग्री खरिदका लागि २ करोड रुपैयाँ अनुदान प्रदान गरेको छ। 

जावलाखेल ग्रुपले अक्सिजन प्लान्ट र आईसीयू विस्तारका लागि धुलिखेल अस्पताललाई १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ। 

यसैगरी जावलाखेल ग्रुपले नेपालको विभिन्न प्रदेशहरुमा सामुदायिक समूहको प्रयासका लागि सहयोगस्वरुप ७५ लाख प्रदान गरेको छ। नेपाल भेन्टिलेटर सर्भिसलाई High-Flow Cannulas  (non-invasive) भेन्टिलेटर खरिद गर्न तथा वीरगन्ज महानगरपालिकालाई अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न पनि जावलाखेल ग्रुपले सहयोग गरेको छ। 

यस्तै ललितपुर महानगरपालिका र ज्यापु समाजको सहयोगमा ललितपुरका रोटरी क्लबहरुमार्फत सञ्चालित आईसोलेसन सेन्टरका लागि उपकरण र सामग्री खरिद गर्न, विराटनगरमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनका लागि रोटरी क्लब अफ विराटनगर युनिकलाई पनि सहयोग गरेको छ। 

रोटरी क्लब अफ बिर्तामोडलाई झापामा अक्सिजन बैंक सञ्चालन गर्न, रोटरी क्लब अफ धनगढीलाई अक्सिजन बैंक सञ्चालन गर्न तथा लायन्स क्लब अफ बुटवलमार्फत बुटवलमा अक्सिजन ग्यास भर्ने कार्यका लागि पनि जावलाखेल ग्रुपले सहयोग गरेको छ। 

यसैगरी रोटरी क्लब अफ भैरहवा मार्फत भैरहवा, रुपन्देहीमा सञ्चालित आइसोलेसन सेन्टरका लागि उपकरण खरिद गर्न, भैरहवा चेम्बर अफ कर्मसमार्फत रुपन्देहीमा सञ्चालित अक्सिजन ग्यास भर्ने कार्यका लागि सहयोग गर्न र देशभरि आफ्नो ग्राहक तथा स्थानीय समुदायका लागि पाँच ५ लाख फेस मास्क वितरण गरेको छ।

जावलाखेल गु्रपका अध्यक्ष विजयकुमार शाहले समुदायलाई आवश्यक परेको बेला सहयोग गर्ने कुरा मानव धर्म रहेको बताए। उनले आफ्नो व्यक्तिगत क्षमतामा खाँचो परेका र बञ्चित समुदायलाई वर्षेनी लाखौँ रुपैयाँ सहयोग गर्दै आएका छन्। उनी सबैभन्दा बढी कर तिर्ने व्यक्तिगत करदाता पनि हुन्। 

जावलाखेल गु्रपका कार्यकारी निर्देशक सशिन जोशीले अहिलेको यो कठिन समयमा एक सच्चा कर्पोरेट नागरिकको हैसियतले ब्यापारिक घरानाहरुले कुनै पनि अपेक्षा नराखी स्वच्छ रुपले सहयोगी भाव विकाश गर्नुपर्नेमा जोड दिए। ‘कर्पोरेट सेक्टर पनि यही समुदायको एक अभिन्न हिस्सा भएको र जसको अस्तित्व समुदायको हितसंग निर्भर गर्दछ। यो समय सरकारले सीमित स्रोत र साधनबाट गरेको प्रयास प्रति हामीले सहयोग र समर्थन गर्ने पनि हो’, उनले भने।