काठमाण्डौ । प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला यही जेठ १७ गतेबाट आयोजना गरिने भएको छ। 

‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगीव्यावसायीहरुको समूह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्रान्डहरुलाई आमउपभोक्ताबीच परिचित गराउने, पुरयाउने र स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराउने उद्देश्यका साथ देशका प्रमुख सहरहरुमा विभिन्न खालका मेला महोत्सवहरु आयोजना गर्दै आइरहेको छ। यही सिलसिलामा ललितपुरको जाउलाखेल खेलमैदानमा प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला आयोजना हुन लागेको हो। 

मेला असार १७ गतेसम्म १ महिना सञ्चालन हुनेछ। मेला बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहनेछ। 

मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरु किरण शुज म्यानुयाक्चर्सको उत्पादन गोल्डस्टार, रोयल शु इन्डस्ट्रिजको उत्पादन रोयल शुज, बेस फुटवेयरको उत्पादन बीएफ डियर हिल र वीबएफ स्पोर्ट, लालीगुराँस फुटवेयरको क्रस रोड शुज, शुभकामना फुटवेयरका फस्टवाक शुज, नमस्ते फुटवेयरको सिल, सुरभी पोलिमर्सको हाई लाइफ, केटीएम शुजको केटीएम, डीजे शुजको डीजे शुज गरी ९ वटा कम्पनी र ब्रान्डहरुको सहभागिता रहनेछ। 

मेलामा ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध हुनेछन्। मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहनेछन्। 

नयां उत्पादनहरु उक्त मेलामा लञ्च गरिनेछन्। मेला अवधिभर विषेश छुटको व्यवस्था गरिनेछ। न्यूनतम २० प्रतिशतदेखि कतिपय उत्पादनहरुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइनेछ। 

मेला अवधिभरमा ३ लाख अवलोकनकर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको छ। मेला अवधिभरमा ५ करोडको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ। 

मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।