काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थीर सरकार बनेको र लगानीका लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयन नयाँ क्षेत्रहरुमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।
स्वीट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७औँ सत्रलाई बिहीबार सम्बोधन गर्दै उनले नेपालमा लामो राजनीतिक संक्रमण र अस्थिरतापछि स्पष्ट बहुमतको सरकार निर्माण भई राजनीतिक स्थायित्व प्राप्त भएको भन्दै लगानीका नयाँ र कैयन सम्भावनाहरुतर्फ विश्वका लगानीकर्ताहरुको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल रोजगारदाता परिषदको अध्यक्ष समेत रहनुभएका ढकालले नेपालीउद्योगीका हैसियतमा सम्बोधन गर्दै नेपालले श्रम सम्बन्धी कानुनमा हालै सुधार गरेको र यसबाट श्रमिकका हकअधिकारहरुको सुनिश्चिततामा उल्लेख्य व्यवस्था गरिएकोले औद्योगिक उत्पादन र रोजगारी सिर्जनाका क्षेत्रमा नेपालले अब उल्लेख्य उपलब्धि हासिल गर्ने दाबी समेत गरे ।
श्रमिकहरुको सामाजिक सुरक्षासहितका विषयलाई समेत समेटेर श्रम कानुनमा गरिएको पछिल्लो यस सुधारले औद्योगिक सम्बन्धको विकास र प्रवद्र्धनका साथै श्रमिकहरुका लागि कार्यक्षेत्रमा हुने सहयोगमा ठूलो सघाउ पुर्याउने अपेक्षा नेपालका उद्यामीहरुले गरेको ढकालले बताए ।
नेपालमा हालैका दिनमा विकसित राजनीतिक स्थीरताका कारण देशमा रोजगारीका थप सम्भावनाहरुको बृद्धि, औद्योगिक उत्पादन तथा सम्बन्धमा विकास र विस्तार तथा उत्पादकत्व र आर्थिक बृद्धिका क्षेत्रमा पनि उल्लेख्य प्रगति हुने अपेक्षा मुलुकको निजी क्षेत्रले गरेको धारणा पनि सो सम्बोधनमा राखेका थिए ।
यसरी गरिने औद्योगिक विकासले नेपालमा समावेशी आर्थिक विकास, रोजगारीका प्रवद्र्धन र नयाँ नयाँ क्षेत्रमा आर्थिक लगानीका अवसरहरु सिर्जना हुने र यसले नेपालमा दिगो आर्थिक विकासमा सघाउ पुग्ने अपेक्षा नेपाल सरकार र नेपालको निजी क्षेत्रले गरेको पनि ढकालले बताए ।
आर्थिक बृद्धिले मात्र पनि सामाजिक न्याय हुन नसक्ने भन्दै ढकालले आर्थिक विकासको प्रतिफल देशको तल्लो तहसम्म तथा निम्न बर्गका नागरिकसम्म पुग्न सक्नुपर्नेमा जोड दिँदै यसका लागि उद्यमशिलताको दिगो विकास र उचित नीतिको ठूलो महत्व रहने र यसले नै कुनै पनि देशको सामाजिक रुपान्तरणका लागि सघाउ पुर्याउने धारणा पनि राखे ।
कुनै पनि देशमा र नेपालमा पनि श्रमिक र उनीहरुका संघ संगठनहरुको क्षमता अभिबृद्धि एक महत्वपूर्ण कार्य हो भन्दै औद्योगिक विकास, उत्पादकत्व बृद्धि, श्रमिकको हकअधिकारको संरक्षण र रोजगारीको सिर्जनामा यसले सहयोग पुर्याउने भन्दै यस्तो क्षमता अभिबृद्धिमा सबैको साझा चासो र अग्रसरताको अपेक्षा गरिएको पनि उनले बताए।
यस क्षेत्रमा आइएलओको आर्थिक तथा प्राविधिक सहयोगको नेपालले अपेक्षा गर्ने धारणा पनि उनले राखेका थिए ।
उक्त सत्रमा आइएलओका सदस्य रहेका विश्वका १८० भन्दा बढी देशका सरकार तथा राज्यप्रमुख, श्रममन्त्री, उद्यमी तथा औद्योगिक क्षेत्रका अगुवा र प्रतिनिधि तथा श्रमिक र श्रमिक नेताहरु गरी ४ हजारभन्दा बढीको सहभागिता रहेको ढकालले जानकारी दिएका छन् । जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७औँ सत्र यही मे २८ देखि जुन ८ सम्म संचालन हुने बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago