काठमाण्डौ । एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ को ताज पहिरिन सफल भएकी छिन्, मिस जेन दीपिका ग्यारेट। काठमाण्डौको गोदावरी सनराइज सम्मेलन केन्द्रमा शनिबार आयोजित फिनालेमा २१ प्रतिस्पर्धीहरुलाई पछि पार्दै दीपिकाले यो उपाधि आफ्नो नाममा लेखाएकी हुन्। 

प्रतियोगितामा मिस गरिमा घिमिरे, मिस बुद्धिसारा सुनार, मिस शिताश्मा पोखरेल र मिस अभिलाषा लम्सालले क्रमशः द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान ओगट्न सफल बनेका छिन्।

यसका साथै एसियन पेन्ट्सले प्रतियोगिताको अन्तिम चरणमा रोयल ब्लिङ मिस ड्याजलिङ डिभा र रोयल प्ले मिस क्रियटिभ क्यानभासको टाइटल पुरस्कार पनि प्रदान गरेको थियो। रोयल ब्लिङ मिस ड्याजलिङ डिभाको टाइटल मिस शिताष्मा पोखरेलले र रोयल प्ले मिस क्रियटिभ क्यानभासको टाइटल डा. अमिसा बस्नेतले जितेका छिन्। 

मिस युनिभर्स नेपाल २०२३ की विजेता मिस जेन दीपिका ग्यारेटलाई एसियन पेन्ट्स नेपालका कन्ट्रि डाइरेक्टर जी. गोपालकृष्णनले पुरस्कार प्रदान गर्नु भएको थियो। मिस युनिभर्स नेपालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘एसियन पेन्ट्समा हामी जिन्दगी र स्थानहरुमा रङहरुले ल्याउने परिवर्तनलाई विश्वास गर्दछौँ। मिस युनिभर्स नेपाल २०२३ को मुख्य प्रायोजक भएर हामीले केवल बाहिरी सौन्दर्यको नभई आन्तरिक सिर्जना र स्टाइलको पनि उत्सव मनाउने लक्ष्य राखेका छौँ।’

मिस युनिभर्स नेपालको एक मुख्य सौन्दर्य प्रतियोगीता हो। जसले बुद्धि, सौन्दर्य र नेतृत्वको उत्सव मनाउन चाहन्छ। यो प्रतियोगिताले युवतीहरु उनीहरुको प्रतिभा प्रस्फुटन गर्ने मञ्च प्रदान गर्नुका साथै अन्तर्रारिष्ट्रय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर दिन्छ र समाजमा एक सकारात्मक प्रभाव छाड्दछ।