काठमाण्डौ । नेपाली हस्तकलालाई स्वदेश तथा विदेशमा चिनाउन प्रमुख पर्यटकीय नगरी ठमेल र पाटनमा प्रचारप्रसार गरिएको छ । महासङ्घले १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिताको अवसरमा आज ठमेल र पाटनमा हस्तकलाको प्रचारप्रसार गरेको हो । 

ठमेल र पाटनमा झाँकीसहित प्रचारप्रसार गरिएको महासंघका महानिर्देशक कृष्ण पौडेलले जानकारी दिए ।

नेपाल हस्तकला महासङ्घले हस्तकला विद्यामा लामो समय योगदान गरेका १० ज्येष्ठ कलाकारलाई सम्मान गरेको छ । महासङ्घले १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिताको अवसरमा आज १० ज्येष्ठ कलाकारलाई धातूको ताम्रपत्र, दोसल्ला र खादाद्धारा सम्मान गरेको हो । 

सम्मानित हुनेमा काष्टकला विधामा ललितपुरका ८४ वर्षीय बद्रीकृष्ण शिल्पकार, सेरामिक्समा भक्तपुरका ८३ वर्षीय न्हुच्छेभगत प्रजापति, धातुपत्र कलामा ललितपुरका ८२ वर्षीय प्रेमकृष्ण ताम्राकार, धातुमूर्तिकलामा ललितपुरका ७९ वर्षीय माईला शाक्य, तामा, पित्तलकलामा ललितपुरका ७८ वर्षीय हेमरत्न बज्राचार्य रहेका छन् ।

यस्तै, कृष्टल मुगाकलामा ललितपुरका ७६ वर्षीय कान्छा शाक्य, फिलिग्रीकलामा ललितपुरका ७६ वर्षीय न्हुक्षेनानी शाक्य, चाँदीको धार्मिक कलामा ललितपुरका ७५ वर्षीय हेरारत्न शाक्य, हस्तीहाडकलामा ललितपुरका ७४ वर्षीय पूर्ण विश्वकर्मा स्थापित र चित्रकलामा काठमाडौँका ७३ वर्षीय रत्नबहादुर बज्राचार्य सम्मानित भए ।सम्मानित सबै ज्येष्ठकलाकारले नेपालको हस्तकलामा चार दशकभन्दा बढी योगदान दिएको महासङ्घका अध्यक्ष सुरेन्द्रभाई शाक्यले जानकारी दिए ।

यसैबीच आज पुरानो इतिहास बोकेको हस्तकलाको विकासका लागि नेचुरल फाइबर सम्बन्धी गोष्ठी आयोजना गरिएको छ । महासङ्घले १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिताको अवसरमा नेपाल पर्यटन वोर्डको हलमा उक्त गोष्ठी आयोजना गरेको हो । कार्यक्रममा उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले नेपालको हस्तकलाको विकासका लागि महासंघले महत्वपूर्ण भूमिका खेलेको बताए । “मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा हस्तकलाले महत्वपूर्ण भूमिका खेलेको छ,”–उनले भने । 

व्यापार तथा निकाशी प्रवद्र्धन वोर्डका उपनिर्देशक राजेन्द्र सिंहले नेपालमा सीमित स्रोत साधनका बाबाजुद हस्तकला क्षेत्रमा धेरै सामाग्री उत्पादन गरेको बताए । आलस, अल्लो र जुटको व्यवसायिक खेती नहुँदा प्राकृतिक रेशाजन्य हस्तकला विकासमा समस्या परेको उनको भनाई थियो । 

महासङ्घका निवर्तमान अध्यक्ष धर्मराज शाक्यले वार्षिक १० अर्ब बराबरको हस्तकला विदेशमा निर्यात हुँदै आएको बताए ।

आज शुक्रबार विशिष्ट व्यक्तिद्धारा १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिताको अवलोकन गरेका छन् । 

मंसिर १२ गतेदेखि सुरु भएको मेलाको अवलोकनका लागि आज नेपाल कम्युनिष्ट पार्टीका नेता अमृतबहादुर बोहरा, सांसद अष्टलक्ष्मी शाक्य भृकुटीमण्डपमा आएका थिए । यसैगरी, आजै नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुनतिलाकाले पनि हस्तकला मेलाको अवलोकन गरे ।