काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। 

हस्ताक्षरपश्चात डिजिटल माध्यमबाट वित्तीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य राखी डिप्रोक्स नेपालले सञ्चालन गर्नेे कार्यक्रममा बैंकको सहभागिता रहनेछ। 

त्यस्तै परियोजनाअन्तर्गत लुम्बिनी प्रदेशका दाङ, रोल्पा र रुकुम–पूर्व जिल्लाहरुको शान्तिनगर, दंगीशरण, त्रिवेणी, रुन्टीगढी, परिवर्तन, थवाङ; भूमे र पुथाउत्तरगंगा गरी ८ स्थानीय तहमा बेलायतस्थित प्राक्टिकल एक्सन र डिप्रोक्स नेपालको साझेदारीमा सञ्चालन हुने कार्यक्रमा पनि बैंकको सहभागिता हुनेछ। 

बैंकसँगको सहकार्यमा हुने डिजिटल कारोबारले परिलक्षित समुदायको समय, श्रम र खर्चमा बचत हुने विश्वास छ। यस परियोजनामा आवद्ध घरधुरीहरु तरकारी, दुग्ध उत्पादन, ओखर, सुन्तला खेती र बाख्रापालन व्यवसायमा संलग्न छन्।

परियोजनामा आबद्ध ५ हजार ५०० घरधुरीमध्ये ८० प्रतिशत सहभागी महिला हुनेछन् भने बाँकी २० प्रतिशत विभिन्न सीमान्तकृत परिवारबाट हुनेछन्। यसैभित्रबाट ३ प्रतिशत समुदाय अपांग घरपरिवार पनि हुने हुँदा परियोजनाले परिलक्ष्यित समुदायमा समावेशी वित्तीय पहुँच स्थापित हुने विश्वास बैंकले लिएको छ। 

यसका साथै यी क्रियाकलापमा सहजीकरण गर्न परियोजनाले ८० जना महिला डिजिटल च्याम्पियन परिचालन गरी बैंकसँगको सहकार्यमा वित्तीय शिक्षा, डिजिटल साक्षरता, महिला सशक्तीकरणका तालिम सञ्चालन गरी मोबाइल बैंकिङ, डिजिटल बैंकिङ, कृषि ऋण र समावेशी वित्तीय पहुँचका लागि योगदान हुने विश्वास बैंकले लिएको छ। 

बैंकले समयसापेक्ष रुपमा विभिन्न संघसंस्थासँग यस किसिमका सम्झौताहरु गरी आर्थिक गतिविधिहरुमा आफ्नो अग्रसरता जनाउँदै आएको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ।