काठमाण्डौ । मोबाइल वालेट कम्पनी डीजी पे प्रालि र नाइस टेलिभिजनबीच सहकार्यको लागि ऐतिहासिक सम्झौता भएको छ। टेलिभिजनमार्फत व्यावसायिक प्रवर्द्धनका लागि नेपालमै नौलो खालको सम्झौता भएको हो। 

सम्झौताअनुसार डीजी पेको व्यावसायिक आबद्ध योजनाअनुरुप कम्पनीसँग आबद्ध हुने व्यवसायीले नाइस टेलिजिभजनमा १ लाख ५० हजार मूल्यबराबरको विज्ञापन ३ महिनासम्म निःशुल्क गर्न पाउने भएका छन्। यसका साथै अन्य विज्ञापनमा पनि विशेष छुटको व्यवस्था गरिएको छ। 

सम्झौतापत्रमा नाइस टेलिभिजन एचडीका अध्यक्ष आशीर्वाद पुन र डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गरेका छन्। 

नेपालकै दोस्रो एचडी टेलिभिजन च्यानेल नाइस टेलिभिजन एचडीसँग ‘अब टीभीमा विज्ञापन सबैका लागि’ भन्ने नाराका साथ फरक खालको सम्झौता गर्न पाउँदा निकै खुशी लागेको पाण्डेले बताए। ‘टेलिभिजनमा विज्ञापन ठूला कम्पनीहरुले मात्र गर्छन् भन्ने हाम्रो मानसिकता छ, यसलाई चिदै अब ठूला साना सबै फर्म तथा पसलले एचडी टेलभिजनमा आफ्नो उत्पादन वा ब्रान्डको विज्ञापन सित्तैमादेखि निकै कम खर्चमा गर्न सक्ने अवस्था सिर्जना गरेका छौँ’, पाण्डेले भने, ‘डिजी पेमा आबद्ध हँुदा पाउने प्याकेज सुविधामा टेलिभजिनमा गरिने अन्य विज्ञापनमा पनि विशेष छुट तथा डिजी पेको लोयल्टी पोइन्ट गोल्ड तथा सिल्वर क्यासमा खरिद गर्न पाउने व्यवस्था गरेका छौँ।’

नाइस टेलिभिजन एचडीका अध्यक्ष पुनले डीजी पेसँग नौलो सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। नाइस टेलिभिजन एचडीको सामाजिक उत्तरदायित्व योजनाअन्तर्गत डिजी पेसँग आवद्ध सबै व्यवसायीहरुले आफ्नो व्यवसायको प्रचारप्रसार, बजार विस्तार र सेवाहरुको जानकारी अब राष्ट्रिय टेलिभिजनबाट बिज्ञापनमार्फत जनमानस पुर्याएर लाभ लिन सक्ने बताए। 

टेलिभिजनमा विज्ञापन महँगो हुने भएकाले साना व्यवसायीले गर्न सक्दैनन् भन्ने धारणालाई यो सम्झौताले फेरिदिएको पाण्डेको भनाइ छ। ‘अब यो सहकार्यअनुसार ठूूलादेखि साना व्यवसायीले पनि आफ्नो विज्ञापन टेलिभिजनमा प्रतिमहिना रु. ५० हजारका दरले ३ महिनाका लागि निःशुल्क गर्न पाउने छन्’, उनले भने। 

यसअघि डीजी पेले स्टार अस्पतालसँग पनि सहकार्य सुरु गरिसकेको छ। जसअनुसार डीजी पेका ग्राहकले स्टार अस्पतालमा विभिन्न छुटको व्यवस्था गरिएको छ। डीजी पे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी हो। यसले अनलाइन र अफ लाइन दुवै माध्यमबाट रकमको डिजिटलाइजेनका लागि कार्य गरिरहेको छ।