काठमाण्डौ । नेपाल चिनियाँ चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीले नेपाल चीन बीचको दुई मात्र व्यापारिक तातोपानी तथा केरुङ्ग नाका लामो समयदेखि आंशिक रुपमा सुचारु हुने र रोकिने अवस्थाबाट गुज्रीरहेको कारण धेरै भन्दा धेरै गाडीहरु नेपाल ल्याउने वातावरण बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ । 
 
द्विपक्षीय वार्ता मार्फत समस्याको स्थायी समाधानका लागि सम्बन्धीत निकाय मार्फत यथाशक्य छिटो पहलका लागि संघले अनुरोध गरेको हो ।
 
नेपाल चीन बीचको व्यापारिक तातोपानी तथा केरुङ्ग नाका लामो समयदेखि आंशिक रुपमा सुचारु हुने र रोकिने अवस्थाबाट गुज्रिरहेको र हालसम्म पूर्ण रुपमा सञ्ंचालन हुन नसकेको कारण व्यापारीहरुले विशेष गरी जाडो, गर्मीयाम तथा चाडवाड लक्षित गरी आयात गरिएका विविध सामानहरु ८–१० महिनादेखि नाकामा अलपत्र अवस्थामा रहेको संघको भनाइ छ । कतिपय खाद्य सामग्री तथा फलफुलहरु विग्रिएको र म्याद सकिने अवस्थामा पुगिसकेको र नाका सुचारु नभएमा कारण व्यापारी व्यवसायीहरु टाट पल्टने अवस्थामा रहेको अनि विविध मानसिक चिन्ता एवं विचलन भई आन्दोलित हुने अवस्थामा रहेको संघले जिकिर गरेको छ । 
 
माल सामानहरु समयमा नेपाल ल्याई विक्री वितरण गर्न नसकेमा व्यवसाय नै धरासाय भई पलायन हुनु पर्ने अवस्था रहेको दाबी गर्दै संघले लामो समय देखि हजारौ ट्रक मालसामानहरु नाकामा अलपत्र अवस्थामा रहेको र नाका सुचारु हुने अवस्था नदेखिएको हुँदा व्यापारीहरुले दुई देश बीच सडक मार्गबाट हुने व्यापारप्रति नकारात्मक टिप्पणी भइरहेको दाबी गरेको छ । 
 
दशैं अगाडि नै नाका पूर्ण रुपमा सुचारु हुने भनिए तापनि चीनीया पक्षले तातोपानी नाकाबाट दैनिक २–४ वटा ट्रकलाई मात्र नेपाल प्रवेशमा अनुमति दिने गरको दाबी गर्दै भन्सार लगायत सम्बन्धित निकायबाट नाका सञ्चालनका लागि प्रयास गरिएतापनि चीनीया पक्षबाट कुनै ठोस जानकारी, कारण तथा सूचना नआएको संघको दाबी छ । यस अन्यौलको अवस्थालाई निरन्तरता दिनु दुई देशको हितमा कदापि नहुने र मुलुकको राजश्व संकलनमा समेत कमी हुने हुँदा यस समस्याको समाधानका लागि विशेष पहल गरी धेरै भन्दा धेरै गाडीहरु नेपाल ल्याउने वातावरण बनाउनु जरुरी रहेको संघको भनाइ छ ।