काठमाण्डौ । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गरी आज आइतबारदेखि एकीकृत कारोवारको शुभारम्भ गरेको छ । 

यस अघि तिनाउ विकास बैंक लिमिटेड र मिसन डेभलपमेन्ट बैंक लिमिटेडबीच मर्जर भई २०७६ असार ३१ गते देखि मर्ज भई तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको नामबाट कारोवारको शुरुवात गरेको थियो ।

एकै क्षेत्रका विकास बैंकहरु मिलेर राष्ट्रिय स्तरको विकास बैंक वन्ने लक्ष्य लिएर अगाडि वढेका यस बुटवल क्षेत्रका विकास बैंकहरुले सहमति पत्रमा हस्ताक्षर गरेको छोटो समयमा नै सम्पूर्ण प्रक्रिया सकेर एकीकृत कारोवार गर्न  सफल भएका हुन् । 

मर्जरपछि यस विकास बैंकको चुक्ता पूँजी १ अर्व ६७ करोड रुपैंया, निक्षेप संकलन १४ अर्व १४ करोड, कर्जा लगानी १२ अर्व ६७ करोड र बैंकका शाखा कार्यालयहरुको संख्या ६२ वटा पुगेको छ । 

तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको अध्यक्षमा टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा प्रदिप कुमार श्रेष्ठ र नायव प्रमुख कार्यकारी अधिकृतमा हरि प्रसाद घिमिरे रहने बैंकले जनाएको छ ।  

राष्ट्रिय स्तरको विकास बैंक बन्ने तयारीमा रहेको यस विकास बैंकले तोकिएको चुक्ता पुँजी पुर्याउनलाई हकप्रद शेयर जारी गर्ने वा आवश्यक परेमा अन्य वित्तीय संस्थासंग मर्जर वा प्राप्तीको विकल्प खुला राखेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले जानकारी गराउनु भयो ।