काठमाण्डौ । पछिल्लो समय बैंकहरुले विभिन्न चाडपर्व र उत्सवलाई लक्षित गरी विभिन्न योजना ल्याउन थालेका छन्।
बैंकहरुले नयाँ वर्ष, कृष्ण जन्माष्टमी, तीज, दसैँ, तिहार, छठलगायतका पर्व तथा उत्सवमा ग्राहकका लागि कुनै न कुनै योजना ल्याइरहेका हुन्छन्। ग्राहक लक्षित त्यस्ता योजना भने प्रत्येक बैंकका फरक–फरक हुन्छन्। विशेषगरी आफ्ना ग्राहक तथा नयाँ ग्राहकलाई लाभान्वित गर्न बैंकहरुले यस्तो तरिका अपनाएको पाइन्छ। जुन नयाँ अभ्यास पनि हो।
केही वर्षअघिसम्म यस्ता प्रचलन नभए पनि पछिल्लो समय भने बैंकहरुले ग्राहकलाई आकर्षित गर्न प्रतिस्पर्धात्मक हिसाबले यस्ता योजनाहरु ल्याइरहेका छन्।
यो वर्षको हरितालिका तीज भोलि मंगलबार परेको छ। महिलाहरुको विशेष पर्व रहेको तीजलाई लक्षित गरी बैंकहरुले विभिन्न योजना तथा छुट सुविधा ल्याएका छन्। ती योजना साधारण किसिमका नभई आकर्षित खालका छन्।
झन्डै आधा दर्जन बैंकहरुले यसपटकको तीज विशेष योजना ल्याएका छन्। उनीहरुले क्यासब्याकको योजनादेखि १ लाखसम्मको बीमा योजना ल्याएका हुुन्। बैंकहरुका यी योजना सहभागी बन्ने ग्राहकले बैंकबाट विभिन्न खालका छुुट तथा सुविधा पाउन सक्नेछन्।
कुन बैंकका कस्ता योजना ?
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले हरितालिका तीजका अवसरमा आफ्ना महिला ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ। क्यासब्याक योजनाअन्तर्गत भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (५०० सम्म) एकपटक क्यासब्याक पाइनेछ।
बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन महिलालाई ग्राह्यता दिने भएको हो। बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाले ग्लोबल स्मार्ट प्लस एपको प्रयोग गरी क्यूआरमार्फतको भुक्तानीमा क्यासब्याक पाउनेछन्। मोबाइल बैंकिङ एप्लिकेसन, क्यूआर पेमेन्ट प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो। आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले समयसापेक्षताअनुसार यस्ता योजनाहरु ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल
सिटिजन्स बैंकले महिलालाई लक्षित गर्दै हरितालिका तीज २०७९ र भदौ महिनामा पर्ने विभिन्न पर्वका अवसरमा लकर सेवा शुल्कमा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत बैंकले भदौ महिनाभरि लकर शुल्कमा ७० प्रतिशत र लकर की डिपोजिटमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ।
यस्ता छुटको सुविधा ग्राहकले बैंकको लकर सेवा उपलब्ध हुने जुनसुकै शाखाबाट पनि प्राप्त गर्न सक्नेछन्। यो सुविधाबापत ग्राहकले आफ्ना अमूल्य गरगहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाणपत्रहरु जस्तै– राहदानी र अन्य मूल्यवान वस्तु सहज र सुपत शुुल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्नेछन्।
मुक्तिनाथ विकास बैंक
यो बैंकले तीजका अवसरमा ‘मुक्तिनाथ तीज विशेष अफर’ योजना ल्याएको छ। भदौभित्र बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीहरुले १ लाखसम्मको चिकित्सासम्बन्धी बीमा, निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षका लागि), निःशुल्क मोबाइल बैंकिङ (पहिलो वर्षका लागि) र Tranquility Spa को विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट पाउनेछन्।
यो योजनाले नारीहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ। यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
महालक्ष्मी विकास बैंक
बैंक हरितालिका तीज–२०७९ का अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ। भदौ महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मानस्वरुप निःशुल्क एटीएम कार्ड तथा मोबाइल बैंकिङका साथसाथै लकर सेवामा ५० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ। बैंकले नारीहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै नारी सम्मान अभियान ल्याईएको जनाएको छ। देशैभर छरिएर रहेका १०३ शाखामार्फत यो खाता खोल्न सकिनेछ।
सानिमा बैंक
यो बैंकले हरितालिका तीजको अवसरमा महिलाहरुलाई लक्षित गरी ‘तीजको कोसेली योजना’ सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकलाई डेबिट वा क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ, एनसेल सीम कार्ड, यूएसडी ई–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने छ।
यस्तै लकर शुुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। यसैगरी पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यो योजना १–१५ भदौसम्म लागू हुनेछ । क्यासब्याक योजना भने भदौ मसान्तसम्म लागू हुनेछ।
सनराइज बैंक
सनराइज बैंकले महिलाको पर्व हरितालिका तीजको अवसरमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ। तीजका लागि महिलाको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै बैंकले भदौ १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलालाई पहिलो कारोबारमा १५ प्रतिशतसम्म वा ५०० रुपैयाँ नबढ्ने गरी क्यासब्याक दिने व्यवस्था गरेको छ।
यसका साथै भदौ महिनाभर सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षका लागि निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क डिम्याट, निःशुल्क मेरो सेयर, निःशुल्क क्रेडिट कार्डको व्यवस्था गरेको छ। शुुल्क तथा गरगहना राख्नका लागि लकर सुविधा लिन सकिनेछ। जसमा ५० प्रतिशत छुटको व्यवस्थासमेत गरिएको बैंकले जनाएको छ। बैंकले सनराइज नारी बचत खातामा १० हजारसम्मको प्रसूति खर्च र ५ लाखसम्मको घातक रोग खर्च दिँदै आएको छ। स्वास्थ्य योजनाअन्तर्गत १ लाखसम्मको स्वास्थ्य बीमा र ५ लाखसम्मको दुर्घटना बीमासमेत दिँदै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago