file photo
काठमाण्डौ । नेकपा एमाले नेतृत्वको सत्ता गठबन्धनमा देखिएको सम्भावित फुटको खतरा २ दिनका लागि भए पनि टरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार बैठक गरी सत्ताबाट बाहिरिने निर्णय गर्नसक्ने अपेक्षाका बीच नाटकीय रुपले विकास भएका घटनाक्रमले अन्यौलपूर्ण अवस्थामा थोरै समय भए पनि ब्रेक लगाइदिएको छ ।
रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठककै क्रममा एमाले अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको फोनले संकट टरेको हो ।
तीनै नेताले बैठककै क्रममा रास्वपाका सभापति रवि लामिछानेलाई फोन गरी हतारमा सरकार छाड्ने निर्णय नगर्न सुझाएका थिए । रास्वपाले सरकार छाड्दा राजनीतिक अस्थिरता हुने र यसले जनतामा राम्रो सन्देश नजाने भन्दै नेताहरुले सम्झाएपछि सो दलले २ दिन कुर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार अब रास्वपाले आफूहरुको माग पूरा गर्न प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रलाई २ दिनको समय दिएको छ ।
रास्वपाले नागरिकता प्रकरणका कारण आफूले गुमाएको गृहमन्त्रालय पुनः पाउनुपर्ने माग गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्ड रास्वपालाई गृह मन्त्रालय दिन इच्छुक नभएपछि अवस्था केही बिग्रिएको थियो ।
प्रचण्ड गृहमन्त्रालय रास्वपालाई नदिने विषयमा अडिग देखिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली भने त्यसको विपक्षमा उभिँदै आएका छन् । सत्तासीन दलहरुबीचको भागबण्डामा रास्वपाले गृहमन्त्रालय पाएकोले अब पनि सो मन्त्रालय उसैको हुने ओलीको तर्क छ ।
ओलीले गृहमन्त्रालय फेरि पनि रास्वपालाई नै दिन प्रचण्डलाई निरन्तर दवाब दिए पनि त्यसले काम गरेको थिएन ।
तर, रास्वपाले सरकार छाड्नेसम्मको निर्णय गर्ने तयारीसहित बैठक नै डाकेपछि प्रधानमन्त्री केही लचक बन्ने संकेत गरेका छन् ।
बैठक बसिरहेको बेला सभापति लामिछानेलाई सुरुमा एमाले अध्यक्ष ओली, त्यसपछि प्रचण्ड र तेश्रो फोन राजेन्द्र लिङ्देनले गरेका थिए । उनीहरुले सत्ता तत्काल छाड्न नहुने, अहिलेको सत्ता गठबन्धन जोगाउनुपर्ने र आगामी राष्ट्रपति निर्वाचन पनि पूर्व सहमतिअनुसार नै हुने सम्भावना बढेको भन्दै लामिछानेलाई रोकेका थिए । प्रधानमन्त्री लचक हुने संकेत पाएपछि रास्वपाले २ दिनको समय दिएर कुर्ने निर्णय गरेको सो पार्टीका एक नेताले जानकारी दिए ।
रास्वपाले यो बीचमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउनुपर्ने माग गरेको छ । यो संयन्त्रको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली छन् । यो संयन्त्रबाट आफूहरुको माग सम्बोधन हुने रास्वपाले अपेक्षा गरेको बुझिएको छ ।
प्रचण्डले भने-यो गठबन्धन टुट्दैन
यसैबीच, प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता गठबन्धन आवश्यक रहेको र नफुट्ने दाबी गरेका छन् ।
पार्टीको स्थायी कमिटी बैठकपछि पेरिसडाँडाबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले त्यस्तो दाबी गरेका हुन् ।
उनले बाहिर हल्ला चलेजस्तो अहिलेको सत्ता गठबन्धन संकटमा नपर्ने र नफुट्ने पनि बताए ।
'हामी पूर्व सहमति कार्यान्वयन गर्न इमानदार छौं । कोही कसैले बेइमानी गर्नुहुन्न ।' उनले थपे-'गठबन्धन सरकार तलमाथि हुँदैन ।'
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago