काठमाण्डौ । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तेस्रो आइएमई जेटीआई ग्रान्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ आयोजना गर्न लागिएको छ।

काठमाण्डौस्थित मण्डीखाटार टेनिस क्लबमा यही चैत १७ गतेदेखि २२ गतेसम्म आयोजना गर्न लागिएको प्रतियोगितामा यू ८–यू १६ उमेर समूहका खेलाडीहरूले भाग लिन सक्नेछन्।

प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीका लागि दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस संघ सातदोबाटो, कास्की जिल्ला टेनिस संघ पोखरा, रूपन्देही लन टेनिस संघ बुटवल, मण्डीखाटार टेनिस क्लब काठमाण्डौ र नाउलिङ सपोर्टस भिल्ला काठमाण्डौबाट आवेदन फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ।

यसका अतिरिक्त आइएमई फाउन्डेसनको वेब साइट http://www.imefoundation.org/ मा पनि आवेदन फारम उपलब्ध छ। खेलाडीको पूर्ण विवरणसहित भरिएका आवेदन फारम यही चैत १२ गते बिहीबारभित्र माथि उल्लेखित स्थानहरुका साथै info@imefoundation.org मा पनि बुझाउन सकिनेछ। यससम्बन्धी विस्तृत जानकारीका लागि पानीपोखरी काठमाण्डौमा अवस्थित आइएमई फाउन्डेसनको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। रितपूर्वक प्राप्त हुन् आएका आवेदनहरूलाई मात्र टाई सीटमा समावेश गरिने कम्पनीले जनाएको छ। 

टेनिस खेलको विकास र विस्तारमा सहयोग  पुगोस् र बालबालिकाहरूमा खेलप्रति रूची पनि जागोस् भन्ने मुख्य उद्देश्यले आइएमई फाउन्डेसनले यो प्रतियोगिता विगत चार वर्षदेखि गर्दै आइरहेको छ। गत वर्ष कोभिड–१९ का कारण स्थगित तेस्रो संस्करण यसपटक आयोजना गर्न लागिएको हो। आइएमई पे प्रतियोगिताको भुक्तानी पार्टनर हुनेछ भने प्रतियोगिता अवधिभर स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण परिपालना गरिनेछ।

आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो। फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका विभिन्न क्षेत्रमा योगदान पु्र्याउँदै आएको छ।