काठमाण्डौ । जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखिममा रहेको दक्षिण एसिया क्षेत्रलाई यो संकट संकटसँग जुध्न सक्षम पार्ने उपायको खोजी गर्ने उद्देश्यले शुक्रबारदेखि राजधानीमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ। 

विश्वका १४ देशका १०० युवाको सहभागिता हुने यो सम्मेलनको मुख्य विषय ‘हिमालय क्षेत्रमा जलवायु उत्थानशीलता, सबैका लागि भलाइ’ रहेको छ। ग्लोबल सेपर्स कम्युनिटी काठमाण्डौ र एनसेल एक्जियाटाको संयुक्त आयोजनामा हुन लागेको यो सम्मेलनको दौरानमा सहभागीहरुले जलवायु उत्थानशीलताका लागि नवीनतम र अन्यत्र लागू गर्न सक्ने समाधानका उपायहरुका बारेमा छलफल गर्नेछन्।

यो वर्षको सम्मेलन दक्षिण एसियाली राष्ट्रमा आयोजना गरिएकाले ‘सेप साउथ एसिया–२०२३’ नाम दिइएको यो सम्मेलनमा विभिन्न विषयगत सत्रहरुमा आयोजना हुनेछन् भने युवा तथा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संस्थाहरुको आवाज समेटेर एउटा पैरवीपत्र अर्थात एडभोकेसी पेपरसमेत जारी गरिनेछ। 

सम्मेलनको दौरानमा सीएनआई, नेपाल चेम्बर अफ कमर्स तथा सीउनआईवाईइएफजस्ता निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले जलवायु परिवर्तन न्यूनीकरण गर्न संयुक्त प्रतिबद्धता व्यक्त गर्नेछन्। सम्मेलनमा सहरमा आधारित परियोजनाको घोषणा गरिनेछ भने व्यवसायिक तथा निजी क्षेत्रले जलवायु परिवर्तनमा के–कस्तो योगदान गर्न सक्छन् भन्ने विषयमा छलफल हुनेछ। 

यो सम्मेलनलाई सहयोग गरेको एनसेलका प्रमुख कार्यकारी जाबोर कायुमोभ भन्छन्, ‘एक्जियाटा समूहको बृहत रणनीतिक खाकाअन्तर्गतको वातावरणीय, समामाजिक तथा सुशासन नीतिअनुसार दिर्घकालीन महत्वको योजनामा हाम्रो समर्थन छ। यो अन्तर्राष्ट्रिय सम्मेलनले जलवायु उत्थानशीलताका लागि अपासी सहकार्यको विकास गर्नेछ भने व्यवशाय र पृथ्वी दुवैलाई बाँच्न सक्ने वातावरणको सिर्जना गर्न योगदना गर्नेछ।’

सम्मेलनको  स्थानीय आयोजक  ग्लोबल सेपर्स काठमाण्डौ रहेको छ भने स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी), सेक्युरिटिपल, कोकाकोला, एनआईबील एस क्यापिटल, नबिल बैंक र इसिमोडले सम्मेलनलाई सहयोग गरेकाछन्। यसैगरी क्लाइमेट रियाल्टी टिम र योेङ ग्लोबल लिडर्सले सम्मेलनको प्राविधिक पक्षलाई संयोजन गरेका छन्। 

वर्ल्ड इकोनोमिक फोरमको सक्रियतामा स्थापना भएको ग्लोबल सेपर्स कम्युनिटीमा विश्वका १५२ देशका ५०५ सहरहरुमा केन्द्र (हब) रहेका छन्। 

सम्मेलनको आयोजना गर्नुअघि आयोजकहरुले वृक्षारोपण अभियानअन्तर्गत तराई क्षेत्रसहित  देशका विभिन्न स्थानमा २ हजार २०० बोटबिरुवा वृक्षरोपण गरेकाछन्। वायुमण्डलमा रहेको कार्बन सोस्न तथा वातावरणीय संरक्षणमा योगदान दिन सहयोग पुग्ने भएकाले वृक्षरोपण गरिएको ग्लोबल सेपर्स काठमाण्डौका सदस्य केशव सरावगीको धारणा छ। ‘दिगो विकासका लागि प्रकृति संरक्षण अपरिहार्य छ। आगामी पिढीलाई स्वस्थ वातावरण हस्तान्तरण गर्न वृक्षारोपणको अहंम महत्व छ’, सरावगी भन्छन्। 

सम्मेलनको दौरानका ग्लोवल सेपर्स काठमाण्डौले वातावरण संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणको दिशामा गरेका केही नवीनतम कार्यलाई प्रस्तत गरिने तयारी छ।