काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल गर्ने बताएका छन्।

आईएमई अटोमोटिभ एस्कर्टसले महिलाहरुका लागि निःशुल्क रुपमा सञ्चालन गरेको हेभी इक्युपमेन्ट अपरेटर र ब्याक हो लोडर तालिमको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले महासंघको अध्यक्षका रुपमा आफूले राखेका पाँचवटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको बताए । ‘जनशक्तिलाई दक्ष बनाउन सकेमा उद्योग–व्यवसायमा आवश्यक दक्ष जनशक्तिको अभाव पूरा हुने र वैदेशिक रोजगारमा जाँदा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने हुनाले मैले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल गर्नेछु’, उनले भने। 

अध्यक्ष ढकालले महिलालाई सीप दिई दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने धारणा राखे। उनले यस तालिमले सीप आर्जन गरी रोजगारीका अवसर पाउने र महिलालाई हेर्ने पुरातन सामाजिक सोँचमासमेत परिवर्तन आउने बताए। ‘हामीले सवारीचालक भन्नेबित्तिकै पुरुषलाई बुझ्ने गर्छौँ’, उनले भने, ‘तर, समय बदलिएको छ, हेभी इक्युपमेन्ट अपरेटरमासमेत महिलाहरुले आफूलाई प्रमाणित गर्न सुरु गरिसकेका छन्। तपाइँहरु पनि त्यो पुरातन सोच र धारणालाई परिवर्तन गर्दै ब्याक हो लोडरको तालिममा सहभागी हुनुभएको छ। तपाइँहरुले राम्रोसँग तालिममा सहभागी भई सीप सिकेर दक्ष बन्न भरपुर प्रयास गर्नु होला । यसले सीप सिकेर रोजगारी मात्र होइन महिला सशक्तीकरणमा पनि ठूलो प्रभाव पार्नेछ।’

तालिममा सहभागी महिलाहरुलाई सुरक्षित र प्रभावकारी रुपमा ब्याक हो लोडर अपरेसन गर्न आवश्यक सबै किसिमका सीप तथा ज्ञान प्रदान गरिनेछ। तालिममा १५ जना महिला सहभागी छन्।