काठमाण्डौ । दशैंमा घर जाँदै हुनुहुन्छ ? त्यसो हो भने बेलैमा बस टिकट सुरक्षित गर्नुहोला । सरकारी  निकाय र  सरोकारवालाबीच आइतबार भएको बैठकले दशैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ यही असोज ७ गतेदेखि खुलाउने निर्णय गरेको छ ।

यातायात व्यवस्था विभागमा बसेको सम्बद्ध निकाय र सरोकारवालाहरुको  संयुक्त बैठकले दशैंका लागि काठमाण्डौ बाहिरिने यात्रुहरुको सुविधालाई ध्यानमा राखी असोज ७ गतेदेखि बुकिङ खोल्ने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता बसन्त अधिकारीका अनुसार असोज ७ गतेदेखि राजधानीका कलंकी, नयाँ बसपार्क, गौशाला, कोटेश्वर, सुन्धारा, चावहिल लगायतका स्थानमा पुगेर तोकिएका  स्थानबाट टिकट बुकिङ गर्न सकिनेछ । 

यसअघि सरकारले दशैं टिकटका लागि काठमाण्डौ बाहिरिने यात्रुले सधैं सास्ती खेप्नुपरेको भन्दै बेलैदेखि बुकिङको काम सुरु गराउने योजना अन्तर्गत असोज १ गतेदेखि नै बुकिङ खोल्ने तयारी गरे पनि यातायात व्यवसायीको असहयोगले त्यो सफल हुन सकेन ।

आइतबारको बैठकमा विभागका अधिकारीले यातायात व्यवसायीका माग पनि सम्बोधन गर्ने भनेपछि असोज ७ गतेदेखि सबै पक्षको सहमतिमा टिकट बुकिङ खुल्ने भएको हो ।