काठमाण्डौ । देउवा सरकारका दुुई उपप्रधानमन्त्रीसहित ५ मन्त्री डेञ्जर जोनमा परेका छन् । 

फोरम लोकतान्त्रिकलाई कांग्रेसमा समाहित गरी सरकारमा सहभागी भएका उपप्रधानमन्त्री विजयकुमार गच्छदार सुनसरी ३ मा एमाले उम्मेद्वार भगवती चौधरीसँग पछि परेका छन् भने देउवा मन्त्रीमण्डलका अर्का उपप्रधानमन्त्री कमल थापा समेत पछाडि परेका छन् । 

यस्तै, सरकारमा सहभागी हुनैका लागि दल फुटाएर मन्त्री बनेका राप्रपा प्रजातान्त्रिकका नेताहरु सुनिलबहादुुर थापा, दीपक बोहोरा र विक्रम पाण्डे समेत प्रतिस्पर्धी भन्दा फराकिलो मत अन्तरले पछाडि धकेलिइरहेका छन् । 

कांग्रेस नेता विजयकुमार गच्छदारले ५ हजार १ सय ५७ मत ल्याएका छन् । उनलाई उछिनेर एमालेकी भगवती चौधरीले ६ हजार ८ सय ३० मत ल्याएकी छन् । यसरी गच्छदार १६७३ मतले पछाडि परिसकेका छन् । उनले भगवतीसँगको मतान्तर घटाउन नसक्दा डेञ्जर जोनमा परेको देखिएको छ । 

उता, देउवा सरकारका अर्का उपप्रधानमन्त्री कमल थापा समेत डेञ्जर जोनमै छन् । उनले बामगठबन्धनका उम्मेद्वार कृष्ण दाहालसँगको मतान्तर घटाउन सकेका छैनन् । एमालेका दाहालले २० हजार ५ सय २० मत ल्याउँदा थापाले १७ हजार ७ सय १६ मत मात्र ल्याएका छन् । 

देउवा सरकारका अर्का मन्त्री सुनिलबहादुर थापा धनकुटामा करिब ८ हजार मतले पछाडि परेका छन् । एमाले उम्मेद्वार राजेन्द्र राईले २२ हजार २ सय ७९ मत ल्याउँदा थापाले भने १४ हजार ६० मत मात्र ल्याएका छन् । 

यस्तै, देउवा सरकारका अर्का मन्त्री विक्रम पाण्डे समेत चितवनमा माओवादी अध्यक्ष प्रचण्डसँग पछाडि परेका छन् । प्रचण्डले ५ हजार ७ सय ५६ मत ल्याउँदा पाण्डेले ३ हजार ३ सय ५९ मत मात्र ल्याएका छन् । 

यस्तै, देउवा सरकारमा सहभागी अर्का मन्त्री तथा राप्रपा नेता दीपक बोहोरा समेत पछाडि परेका छन् । एमाले नेता घनश्याम भूसालसँग उनी पछाडि परेका हुन् । केही घण्टाअगाडिसम्म बोहोरा २ हजार मतले पछाडि थिए भने भूसालले यो मतान्तरलाई बढाउँदै लगेका छन् ।